तिहारमा सेल पकाउने प्रतियोगिता सम्पन्न, ‘सेफ’ इङ्वा सुब्बा प्रथम



काठमाडौं,कात्तिक ३— तिहारको अवसरमा सोमबार यहाँ सेल पकाउने प्रतियोगिता सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन नेपालका प्रथम कार्यकारी सेफ गोविन्द नरसिंह केसीले गर्नुभएको हो।

प्रतियोगितामा सेफ इङ्वा सुब्बाले प्रथम स्थान हासिल गरे भने राधेश्याम श्रेष्ठ द्वितीय र मानबहादुर तामाङ तृतीय घोषित भए।

भोजनलिपि स्वाद र सिलौटो कटेजको आयोजनामा र नेपाली खाना प्रवर्द्धन अभियानको संयोजनमा भएको सो प्रतियोगितामा नौ जनाले सहभागिता जनाएका थिए।

उद्घाटन कार्यक्रममा सेफ केसीले नेपाली खानालाई देशभित्र र बाहिर प्रचारप्रसार गर्न समय–समयमा यस्ता कार्यक्रम आवश्यक रहेको बताउनुभयो।

कार्यक्रममा सहभागी सेफहरूले लक्ष्मीपूजाको पूर्वसन्ध्यामा देउसीभैलो पनि खेलेका थिए। देउसीमार्फत उनीहरूले नेपाली परम्पराको निरन्तरता र पर्यटन क्षेत्रमा देखिएका समस्याको समाधान खोज्नुपर्ने धारणा राखेका थिए।

सोही दिन अक्टोबर २० लाई अन्तर्राष्ट्रिय सेफ दिवसका रूपमा पनि मनाइएको थियो।

प्रतिक्रिया दिनुहोस्