प्रधानमन्त्री कार्कीद्वारा सात दलसँग निर्वाचन सम्बन्धी छलफल आज साँझ बालुवाटारमा
काठमाडौं,कात्तिक ४— प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा निर्वाचन तयारीका विषयमा आज साँझ सात राजनीतिक दलसँग छलफल गर्ने भएकी छन्।
प्रधानमन्त्रीको राजनीतिक संवादको पहलस्वरूप राष्ट्रिय मान्यता प्राप्त दलहरूलाई औपचारिक छलफलका लागि आमन्त्रण गरिएको हो।
छलफल आज साँझ ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुने प्रेस संयोजक राम रावलले जानकारी दिएका छन्।
वर्तमान सरकार निर्वाचन गराउने मुख्य कार्यभारसहित बनेको हो। तर, सरकारले निर्वाचनको वातावरण नबनाएको भन्दै प्रमुख दलहरू असन्तुष्ट हुँदै आएका थिए।
छलफलमा नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, रास्वप, राप्रपा, जसपा नेपाल र जनमत पार्टी सहभागी हुने भएका छन्।सरकारले प्रत्येक दललाई दुई जना उच्चस्तरीय प्रतिनिधि पठाउन अनुरोध गरेको छ।
नेकपा एमाले का तर्फबाट महासचिव शंकर पोखरेलको नेतृत्वमा टोली सहभागी हुनेछ। प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले एमाले छलफलमा सहभागी हुने पुष्टि गरेका छन्। नेपाली कांग्रेस ले छलफललाई स्वागत गर्दै महामन्त्री गगन थापाको नेतृत्वमा सहभागी हुने जनाएको छ। थापाले शान्ति सुरक्षा र निर्वाचनको वातावरणलाई मुख्य एजेन्डा बनाउने बताए।
नेकपा माओवादी केन्द्र का नेता देव गुरूङले सरकारको पहल सकारात्मक रहेको बताए। रास्वप का तर्फबाट उपसभापति स्वर्णीम वाग्ले, राप्रपा बाट अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा नेपाल बाट प्रवक्ता मनिष सुमन,र जनमत पार्टी बाट महासचिव चन्दन सिंह छलफलमा सहभागी हुने छन्।
यसअघि सरकारका तर्फबाट राष्ट्रपतिको माध्यमबाट दलहरूको धारणा बुझ्ने प्रयास भए पनि प्रत्यक्ष संवाद ढिलै सुरू भएको थियो। दलहरूको असन्तुष्टिका बीच आजको छलफललाई निर्वाचनको तयारीतर्फ सरकारको गम्भीर पहलको संकेतका रूपमा हेरिएको छ।
तर, राजनीतिक वृत्तमा अझै पनि निर्धारित मितिमा निर्वाचन हुन्छ कि हुँदैन भन्ने अन्योल कायमै रहेको छ।

