बालुवाटारमा आसन्न चुनावबारे सरकार र दलबीच छलफल जारी
काठमाडौं,कात्तिक ४— प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बालुवाटारमा आसन्न निर्वाचनबारे सर्वदलीय बैठक सुरु भएको छ। बैठकमा दश राजनीतिक दलका शीर्ष प्रतिनिधि सहभागी छन्।
बैठकमा आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा चुनावको सुरक्षासम्बन्धी तयारी र वातावरण निर्माणबारे विस्तृत छलफल भइरहेको छ। हाल राजनीतिक दलहरूबीच चुनावी सुरक्षालाई लिएर देखा परेको संशय र असन्तुष्टि सम्बोधन गर्ने उद्देश्यले प्रधानमन्त्री कार्कीले संवादको सुरुवात गरेकी हुन्।
प्रधानमन्त्री कार्कीले पदभार ग्रहण गरेपछि पहिलोपटक सबै राजनीतिक दलहरूलाई एकै ठाउँमा भेला गराएर संवादको पहल गरेकी हुन्। उनी जेनजी आन्दोलनको जगमा प्रधानमन्त्री बनेकी हुन्।
छलफलमा कांग्रेसका गगन थापा र प्रकाशशरण महत, एमालेका शंकर पोखरेल र प्रदीपकुमार ज्ञवाली, माओवादी केन्द्रका वर्षमान पुन र पम्फा भुसाल, रास्वपाका स्वर्णिम वाग्ले र सोविता गौतम, राप्रपाका राजेन्द्र गुरुङ र मोहन श्रेष्ठ, जसपा नेपालका उपेन्द्र यादव र प्रकाश अधिकारी, एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र प्रकाश ज्वाला, लोसपाका सर्वेन्द्रनाथ शुक्ल, नागरिक उन्मुक्ति नेपालका रेशम चौधरी, नेमकिपाका प्रेम सुवाल र जनमतका चन्दन सिंह सहभागी छन्।
बैठकमा सरकारका तर्फबाट अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, कृषि तथा पशुपन्छी विकासमन्त्री मदन परियार र सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल पनि सहभागी छन्।
यसअघि प्रधानमन्त्री कार्की राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेको सर्वदलीय बैठकमा सहभागी भएकी थिइन्। आजको बैठकलाई आसन्न निर्वाचनका लागि राजनीतिक सहमति निर्माणतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

