वर्षाले नाश गर्यो सयपत्री–मखमली, बजारमा फुल अभाव
धादिङ,कात्तिक ५ । तिहार नजिकिँदै गर्दा बजारमा सयपत्री र मखमलीका फूल तथा मालाको अभाव देखिन थालेको छ। दशैं आसपास परेको अविरल वर्षाले धादिङका फूलखेती किसानहरूको लाखौंको लगानीमा पानी फेरिदिएको हो।
धुनीवेशी नगरपालिका–९ काफलटारकी फूलखेती किसान पुर्णमाया मगर भन्छिन्, “यस वर्ष वर्षाले फुल खेती ठूलो नोक्सानी गर्यो, राम्रो फुल थोरै मात्रै छन्। नाफा होइन, लगानी उठाउने चिन्ता छ।”
धादिङका मानबहादुर पुन मगरले २० रोपनी क्षेत्रफलमा फूलखेती गर्दै आएका छन्। उनका अनुसार करिब ५० प्रतिशत फूल बिग्रिएका छन्। “वर्षाले फुल नाश गरेपछि यस वर्ष ५/७ लाखको फुल बेच्ने सपना तुहियो,” उनले दुःख व्यक्त गरे।
फूलखेती किसानहरूका अनुसार, हरेक वर्ष कुनै न कुनै कारणले घाटा व्यहोर्नुपर्ने बाध्यता दोहोरिन्छ। भारतीय र प्लास्टिकका फूलका कारण स्थानीय उत्पादनले बजार नपाउने समस्या पनि उनीहरूको गुनासो हो।
हाल बजारमा मखमली र सयपत्री फूलको माग अत्यधिक छ, तर आपूर्ति अभावका कारण मूल्य बढेको छ। किसानले उचित मूल्य नपाउने र उपभोक्ताले महँगो तिर्नुपर्ने अवस्थालाई समाधान गर्न स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्ने किसानहरूको माग छ।
सरोकारवाला निकायले समयमै चासो देखाए आगामी वर्षहरूमा नेपाल आत्मनिर्भर बन्न सक्ने किसानहरूको विश्वास छ।

