भाइटीकाको अघिल्लो दिन रुकुममा दुःखद घटना — खोलामा डुबेर युवाको मृत्यु
रुकुमपश्चिम,कात्तिक ५— दिदी–भाइबीचको विशेष पर्व भाइटीकाको अघिल्लो दिन रुकुमपश्चिममा एक युवकको खोलामा डुबेर मृत्यु भएको छ।
मुसीकोट नगरपालिका–४ सोलाबाङका १९ वर्षीय केदार शर्माको बुधबार बेलुकी मुग्लुखोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको स्थानीय सुर्यप्रकाश शर्माले जानकारी दिएका छन्।
स्थानीय कपिलदेव शर्माका एकमात्र छोरा केदार कक्षा १२ मा अध्ययनरत थिए। तिहार मनाउन उनी हालै काठमाडौँबाट गाउँ फर्किएका थिए। उनका तीन दिदीबहिनी रहेका छन्। भाइटीकाको तयारीमा व्यस्त दिदीबहिनीहरू भाइको असामयिक निधनले विक्षिप्त भएका छन्।
शर्माको शव जिल्ला अस्पताल सल्लेमा पोष्टमार्टम पछि घर ल्याइएपछि आज भाइटीकाकै दिन अन्त्येष्टि गरिने परिवारजनले जनाएका छन्।
स्थानीयले तिहारको खुशीमाथि परेको यस घटनाले सोलाबाङ गाउँलाई शोकमग्न बनाएको बताएका छन्।

