विद्युत सर्ट भइ गुल्मीको एक घरमा आगलागी
गुल्मी,कात्तिक ६ । गुल्मीको रेसुङ्गा नगरपालिका–४ अर्खलेस्थित एक घरमा बुधबार साँझ विद्युत् सर्टका कारण आगलागी हुँदा ठूलो क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार इश्वरीप्रसाद भण्डारीको ढुंगामाटोले बनेको टिनले छाएको तीनतले कच्ची घरमा विद्युत् सर्ट भएर आगलागी भएको हो।
आगलागीबाट घर पूर्णरूपमा जलेर नष्ट भएको साथै घरभित्र रहेको अन्नपात, लत्ताकपडा र भाँडावर्तन समेत जलेको प्रहरीले जनाएको छ। साथै निजकै घरसँग जोडिएको पक्की घरको छतमा बनेका टिनले छाएका दुई कोठा आंशिक रूपमा क्षतिग्रस्त भएका छन्।
जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी तथा डिएसपी गंगाबहादुर सारुका अनुसार आगलागीमा मानवीय वा पशुचौपायाको कुनै क्षति भएको छैन। आगलागीबारे जानकारी प्राप्त भएपछि प्रहरी हवलदार लोकराज पोख्रेलको कमाण्डमा खटिएको प्रहरी टोली, स्थानीयवासी र दमकलको सहयोगमा आगो पूर्णरूपमा नियन्त्रणमा लिइएको जनाइएको छ।

