मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते



चितवन,कात्तिक ६ — पूर्वपश्चिम राजमार्गको गोन्द्राङमा बिहीबार बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्को जना घाइते भएका छन्। बिहान ४ः१५ बजे भरतपुर महानगरपालिका–१२ गोन्द्राङमा ग १० प ६१२२ नम्बरको मोटरसाइकल दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार टाँडीबाट गोन्द्राङ तर्फ आउँदै गरेको उक्त मोटरसाइकल आफैं अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा तनहुँ देवघाट गाउँपालिका–२ घर भई हाल नवलपुर गैंडाकोट नगरपालिका–१ बस्ने ४४ वर्षीय टंकप्रसाद थापाको मृत्यु भएको छ।

मोटरसाइकलमा पछाडिबाट सवार रहेका थापा गम्भीर घाइते भई अस्पताल लैजाने क्रममा मृत घोषणा गरिएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक, गैंडाकोट–१ का २६ वर्षीय केशव घर्ती मगर घाइते भएका छन्। उनको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्