नेकपा (एकीकृत समाजवादी) रुकुमपश्चिमका उपाध्यक्ष दीपकराज खड्काको निधन, पार्टी र समाजलाई ठूलो क्षति



रुकुमपश्चिम,कात्तिक ६— नेकपा (एकीकृत समाजवादी) रुकुमपश्चिमका जिल्ला उपाध्यक्ष तथा मुसीकोट नगर कमिटीका अध्यक्ष दीपकराज खड्काको निधन भएको छ। मुटु रोगबाट पीडित ४७ वर्षीय खड्काको बुधबार बेलुका काठमाडौँस्थित गंगालाल हृदयरोग निवारण केन्द्रमा उपचारको क्रममा मृत्यु भएको हो।

पार्टीका प्रचार विभाग प्रमुख अमरराज पुनका अनुसार खड्काको निधनले पार्टीले एक कुशल, समर्पित र जनमुखी नेताको अभाव महसुस गरेको छ। पुनले भने, “राजनीतिक सहकार्य र आत्मीयताका धनी नेताको असामयिक निधनले पार्टीको भावी योजनामा ठुलो असर परेको छ।”

रुकुमपश्चिमको मुसीकोट नगरपालिका–४ सोलाबाङ निवासी खड्का जिल्ला अस्पताल विकास समितिका सदस्य पनि थिए। समितिका अध्यक्ष टेक कुसारीले खड्का अत्यन्त सरल, मिलनसार र समाज रुपान्तरणका लागि समर्पित व्यक्तित्व भएको उल्लेख गर्दै भने, “उहाँको निधनले हामीले एक असल सामाजिक योद्धा गुमाएका छौं।”

त्यस्तै, मुसीकोट नगरपालिका प्रमुख महेन्द्र केसीले पनि खड्काको निधनले नगरले समाजका लागि योगदान दिने एक कर्मशील व्यक्तित्व गुमाएको बताए। “खड्काले समाज, राजनीति र पर्यटन क्षेत्रका लागि अमूल्य योगदान गर्नुभयो,” प्रमुख केसीले भने, “उहाँको कमी अब सहजै पूर्ति हुन सक्दैन।”

मृतक खड्का राजनीतिसँगै पर्यटन व्यवसायमा पनि सक्रिय थिए। उनले रुकुमको पर्यटन विकास, स्थानीय व्यवसाय प्रवर्द्धन र सामाजिक सेवा क्षेत्रमा उल्लेखनीय योगदान दिएका थिए। विभिन्न सामाजिक संघसंस्थामा आवद्ध खड्का समुदायमा आदर्श नेतृत्वका रूपमा चिनिँदै आएका थिए।

प्रतिक्रिया दिनुहोस्