सरकार र जेनजीबीच लिखित सम्झौता हुने तयारी, राष्ट्रपति पौडेलको उपस्थितिमा हस्ताक्षर हुने
काठमाडौं,कात्तिक ८ — सरकार र जेनजीबीच जेनजी आन्दोलनका माग र मुद्दाहरूको दस्तावेजीकरण तथा कार्यान्वयनका लागि लिखित सम्झौता हुने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा दुवै पक्षबीच सम्झौता हस्ताक्षर हुने तयारी गरिएको छ।
सन् २०६३ सालको विस्तृत शान्ति सम्झौताजस्तै यसपटक पनि राज्य र आन्दोलनकारीबीच लिखित सहमति गर्न लागिएको हो। हाल विभिन्न जेनजी समूहहरूसँग अनौपचारिक छलफल जारी छ भने केही दिनमै औपचारिक वार्ता गरी सम्झौताका मस्यौदालाई अन्तिम रूप दिने तयारी भएको बताइएको छ।
सरकारले विभिन्न आठवटा जेनजी समूहसँग औपचारिक वार्ता गर्ने तयारी गरेको छ। सरकारी पक्षबाट वार्ता र छलफलको संयोजन प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनालले गरिरहेका छन्।
गत असोज २५ गते राष्ट्रपति भवन शीतल निवासमा सरकार र विभिन्न समूहका जेनजी प्रतिनिधिहरूबीच पहिलोपटक छलफल भएको थियो। तर सो दिन राष्ट्रपति पौडेल आकस्मिक बिरामी परेपछि छलफलमा प्रधानमन्त्री सुशीला कार्की र केही मन्त्रीहरू मात्र सहभागी भएका थिए।
राष्ट्रपति पौडेल अस्पतालबाट फर्किएपछि असोज ३० गते शीतल निवासमै पुनः अर्को वार्ता भएको थियो। सो क्रममा आन्दोलनकारी पक्षले लिखित सम्झौता अनिवार्य हुनुपर्ने माग राखेका थिए।
सरकारका अनुसार यो सम्झौता जेनजी आन्दोलनका मुद्दा, माग र अधिकार सुनिश्चितताका पक्षमा ऐतिहासिक दस्तावेजको रूपमा रहनेछ।

