मिथिला क्षेत्रमा छठ पर्वअन्तर्गत ‘नहाय–खाय’ विधि सम्पन्न, श्रद्धा र भक्ति उम्लिएको वातावरण



जनकपुर,कात्तिक ८— मिथिला क्षेत्रमा छठ पर्वको पहिलो चरण ‘नहाय–खाय’ विधि शनिबार श्रद्धा र भक्तिसहित सम्पन्न गरिएको छ। व्रतालुहरूले आज पवित्र नदी र तलाउमा स्नान गरी व्रत सङ्कल्पसहित चोखो खानेकुरा सेवन गरेका छन्। मिथिलामा यो विधिलाई ‘नहाय–खाय’ भनेर चिनिन्छ।

कार्तिक शुक्ल चतुर्थीका दिन हुने यो विधिबाट चार दिन लामो छठ पर्वको औपचारिक सुरुवात हुने परम्परा रहिआएको छ। छठ प्रारम्भसँगै मिथिलाका धार्मिक एवं सांस्कृतिक महत्त्वका नदी र तलाउहरू बेहुलीझैँ सिँगारिएका छन्। बजार र गल्लीहरूमा सूर्यदेव र षष्ठी (छठी) देवीको भक्ति गीतहरू गुञ्जिरहेका छन्।

श्रद्धा, निष्ठा र आत्मिक शुद्धिलाई प्रमुख मानिने यो पर्वमा ठकुवा, भुसुवा (कसार), खिरलगायतका मिष्टान्न परिकार ढिकी–जाँतोमा कुटिएको चामल र गहुँको पिठोबाट शुद्ध घिउमा बनाइने परम्परा छ। व्रतालुहरूले नयाँ चुलोमा यी परिकार पकाउने चलन रहिआएको छ।

पञ्चमीका दिन ‘खरना’ विधिमा व्रतालुहरू दिनभर निराहार रही साँझ सख्खर मिसाइएको अरवा चामलको खिर कूलदेवता र छठी देवीलाई अर्पण गरी प्रसादस्वरूप सेवन गर्छन्। त्यसपछि षष्ठीका दिन साँझ अस्ताउँदो सूर्यलाई र सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व सम्पन्न हुन्छ।

मिथिलाको जनजीवनसँग गहिरो रूपमा जोडिएको यो पर्वमा स्वच्छता, अनुशासन र समर्पणको अद्भुत उदाहरण देखिन्छ। छठ पर्वका अवसरमा जनकपुरलगायत मिथिला क्षेत्रका प्रमुख घाटहरूमा भक्तजनको भीड बढ्दै गएको छ।

प्रतिक्रिया दिनुहोस्