गृहमन्त्री अर्यालको आग्रह — “सडकमा होइन, संवादमा आउनुहोस्”
काठमाडौं,कात्तिक ८ — गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न माग राखेर सडक प्रदर्शनमा रहेका समूहलाई संवादका लागि आउन आग्रह गर्नुभएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा सुरक्षा निकायका प्रमुखहरूसँग भएको छलफलपछि उहाँले रासससँग कुरा गर्दै सरकार संवादमार्फत् राजनीतिक माग सम्बोधन गर्न तयार रहेको स्पष्ट गर्नुभयो।
“राजनीतिक माग सरकार संवादको माध्यमबाट सम्बोधन गर्छ। संवादमा आउनुपर्यो, सडकमा जानु जरुरी छैन,” गृहमन्त्री अर्यालले भन्नुभयो।
उहाँले लोकतान्त्रिक अधिकार प्रयोग गर्दा अरूको अधिकार हनन् नहुनेतर्फ प्रदर्शनकारी सचेत रहनुपर्ने बताउनुभयो।
“सार्वजनिक वा निजी सम्पत्तिमा क्षति पुर्याउनु हुँदैन, कहीँकतै हिंसात्मक गतिविधि हुनु हुँदैन,” गृहमन्त्रीको भनाइ थियो।
बालुवाटारमा सम्पन्न सुरक्षा बैठकमा मुलुकको पछिल्लो सुरक्षा अवस्थाको सूक्ष्म विश्लेषण गरिएको जानकारी दिँदै उहाँले सुरक्षा स्थितिलाई सामान्यीकरण गर्दै निर्वाचनको वातावरण बनाउन सरकार केन्द्रित रहेको बताउनुभयो।

