मनाङमा लेक लागेर थप एकजनाको मृत्यु, ज्यान गुमाउनेमा नुवाकोट किस्पाङका घले



मनाङ,कात्तिक ८ — मनाङको नार्पाभूमि गाउँपालिका–४, याकखर्कमा लेक लागेर थप एकजनाको मृत्यु भएको छ। जिल्ला प्रशासन कार्यालय मनाङका अनुसार नुवाकोटको किस्पाङ गाउँपालिका–१ का ४९ वर्षीय साम्बा घलेको शुक्रबार दिउँसो ३ बजेतिर घटनास्थलमै मृत्यु भएको हो।

यसअघि शुक्रबार मात्रै सोही क्षेत्रमा पर्ने काङ्ला फेदीमा लमजुङको क्व्होंलासोथार गाउँपालिका–४, भुजुङका डिलबहादुर गुरुङको लेक लागेर मृत्यु भएको थियो।

मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालका अनुसार घले पर्यटकको भारी बोकेर फर्कने क्रममा अस्वस्थ भएका थिए। “उनी केही समयमै बेहोस भएर ढलेका थिए,” प्रजिअ पौड्यालले बताए। मृतकका ज्वाइँ मारिस तामाङले पनि साम्बा घले बिरामी परेपछि तत्काल मृत्यु भएको जानकारी दिएका छन्।

लेक लागेर लगातार मृत्युका घटनापछि स्थानीय प्रशासनले उच्च हिमाली क्षेत्रका यात्रु र मजदुरलाई स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्