मिथिलामा छठ पर्वको ‘नहाय खाय’ विधि सम्पन्न
जनकपुरधाम,कात्तिक ८ — मिथिलाको महान् चाड छठ पर्वअन्तर्गत आज शनिबार ‘नहाय खाय’ विधि सम्पन्न गरिएको छ। मधेश प्रदेशको राजधानी जनकपुरधामका विभिन्न पोखरी, नदी र घाटहरूमा व्रतालु महिलाले सूर्यदेवको आराधना गर्दै स्नान गरी पवित्र पक्वान्न ग्रहण गरेर व्रतको सुरुवात गरेका हुन्।
परम्पराअनुसार व्रतालुहरूले नदी, पोखरी वा धारामा स्नान गरी शुद्ध भई अरवा चामल र लौकाको तरकारीको प्रसाद ग्रहण गर्ने चलन रहेको छ। व्रतालु क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरकी गीतादेवी साहले बताइन्, “नहाय खायपछि चार दिनसम्म सूर्योपासना गरी कठोर व्रत बस्ने परम्परा छ।”
चारदिवसीय छठ पर्वअन्तर्गत पहिलो दिन आज नहाय खाय, दोस्रो दिन आइतबार खरना, तेस्रो दिन सोमबार उस्ताउँदो सूर्यलाई र अन्तिम दिन मंगलबार उदाउँदो सूर्यलाई अर्घ्य दिने विधि रहन्छ।
छठ पर्वलाई उत्साहका साथ मनाउन जनकपुरधाम र आसपासका क्षेत्रमा तयारी अन्तिम चरणमा पुगेको स्थानीय पुनम झाले जानकारी दिइन्। पोखरी र घाटहरूको सरसफाइ, सजावटलगायतका काम तीव्र गतिमा भइरहेको र बजारमा केरा, नरिवल, ठेकुवा, दैना र पूजा सामग्री खरिदका लागि भीड बढेको देखिएको छ।

