पोखरामा चक्कु प्रहारबाट एक जनाको मृत्यु, एक अभियुक्त पक्राउ
पोखरा,कात्तिक ९ — पोखरामा चक्कु प्रहार गरी एक व्यक्तिको हत्या गरिएको छ। पोखरा महानगरपालिका–५ बस्ने ४५ वर्षीय अनिल पराजुलीको चक्कु प्रहारबाट मृत्यु भएको हो।
घटनामा संलग्न रहेको आरोपमा पोखरा महानगरपालिका–१८ सराङकोट घर भई सोही महानगरपालिका–५ मालेपाटन बस्ने २४ वर्षीय किशोर तिमिल्सिनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको कास्की जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
शनिबार बिहान चिल्डेल पार्कनजिकै पराजुली अचेत अवस्थामा भेटिएका थिए। वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनलाई उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरा पुर्याएको थियो। उपचारको क्रममा पराजुलीको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार पराजुली र तिमिल्सिनाबीच सामान्य वादविवाद हुँदा चक्कु प्रहार भएको खुलेको प्रहरीले जनाएको छ। घटनामा प्रयोग गरिएको चक्कुसहित तिमिल्सिनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको कास्की प्रहरी कार्यालयका प्रवक्ताले जानकारी दिए।

