जेनजी आन्दोलनका क्रममा प्रहरी हत्या प्रकरणमा थप ६ जना पक्राउ



काठमाडौं,कात्तिक ९ — जेनजी आन्दोलनका क्रममा प्रहरीको हत्या गरेको आरोपमा थप ६ जना व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी पवनकुमार भट्टराईका अनुसार पक्राउ परेकाहरूमाथि विस्तृत अनुसन्धान सुरु गरिएको छ। उनीहरूलाई महाराजगञ्ज र कोटेश्वर क्षेत्रमा प्रहरीमाथि आक्रमण गरी हत्या गरेको आरोप लागेको छ।

यसअघि सोही प्रकरणमा पक्राउ परेका होम प्रसाद पौडेल, टिकाराम विक, बुद्धिलाल तामाङ र युवराज क्यापछापीलाई मुद्दा पुर्पक्षका लागि कारागार पठाइएको थियो।

गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले महाराजगञ्ज प्रहरी वृत्तमा तोडफोड र आगजनी गरेका थिए। त्यही क्रममा असइ मिलन राय र प्रहरी जवान उत्तम थापा (महाराजगञ्ज) र अमृत गुरुङ (कोटेश्वर) को अराजक समूहको कुटपिटबाट मृत्यु भएको थियो।

प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी जारी रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्