मनाङमा लेक लागेर तीन जनाको मृत्यु
मनाङ,कात्तिक ९— हिमाली जिल्ला मनाङमा लेक लागेर तीन जनाको मृत्यु भएको छ। मनाङको नार्पाभूमि गाउँपालिकाका विभिन्न स्थानहरूमा लेक लागेर उच्च हिमाली क्षेत्रमा काम गर्न गएका ती मजदुर तथा गाइडहरूको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ।
मृत्यु हुनेमा तनहुँका ४४ वर्षीय रामबहादुर थापा, नुवाकोटको किस्पाङ गाउँपालिका–१ का ४९ वर्षीय साम्बा घले, र लमजुङको क्व्होलासोथर गाउँपालिका–४, भुजुङका ४८ वर्षीय डिलबहादुर गुरुङ रहेका छन्।
पर्यटक पथप्रदर्शक (गाइड) का रूपमा कार्यरत रामबहादुर थापाको शनिबार राति नार्पाभूमि–२ केरेला होटलमा मृत्यु भएको हो। आइतबार बिहान हेलिकोप्टरमार्फत उनको शव काठमाडौँस्थित शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
त्यसैगरी, शनिबार नै नार्पाभूमि–४ काङला फेदी क्षेत्रमा लेक लागेर डिलबहादुर गुरुङको पनि निधन भएको हो। करिब ४,५०० मिटर उचाइबाट पर्यटकको सामान बोकेर फर्कँदै गर्दा गुरुङ बेहोस भएका थिए। उनलाई एयर डाइनेस्टीको हेलिकोप्टरमार्फत उद्धार गरी पोखरा मणिपाल शिक्षण अस्पताल पुर्याइएको थियो, तर उपचारका क्रममा उनको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ।
यसअघि शुक्रबार नार्पाभूमि–४ याकखर्कमा पर्यटकको भारी बोकी फर्कँदै गर्दा नुवाकोटका साम्बा घलेको पनि लेक लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मनाङका सूचना अधिकारी अर्जुन बस्नेतले बताएका छन्।
मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौडेलका अनुसार हाल मौसम परिवर्तनसँगै उच्च हिमाली क्षेत्रमा तापक्रम घटेको र लेक लाग्ने जोखिम बढेको हुँदा त्यहाँ काम गर्ने र भ्रमणमा जानेहरूलाई सतर्क रहन आग्रह गरिएको छ।

