पाल्पाको अनौठो धार्मिक मेला : चिच्याएर वर माग्ने सत्यवती बजैको मेला कात्तिक १५ देखि १९ गतेसम्म
पाल्पा, कात्तिक १०। पाल्पा जिल्लाको प्रसिद्ध र अनौठो धार्मिक मेला सत्यवती बजैको मेला यस वर्ष कात्तिक १५ देखि १९ गतेसम्म लाग्ने भएको छ। तीनाउँ गाउँपालिका–४, कोलडाँडाको बीच जंगलमा अवस्थित सत्यवती ताल परिसरमा हरेक वर्षझैं यस वर्ष पनि मेला आयोजना गरिने भएको हो।
कार्तिक शुक्ल पूर्णिमाको समयमा मात्र पूजा गर्ने परम्परा रहेको यस मन्दिरमा भक्तजनहरूको ठूलो भीड लाग्ने गर्छ। कार्तिक शुक्ल त्रयोदशीदेखि पूर्णिमासम्म पाँच दिनसम्म मेला चल्ने परम्परा रहँदै आएको छ।
सत्यवती ताल संरक्षण तथा मन्दिर विकास समितिका अध्यक्ष दानबहादुर गाहाका अनुसार भक्तजनहरू राति अँध्यारोमा तालमा पुग्ने र बिहान झिसमिसे उज्यालो नहुँदै मन्दिर परिसर छोड्ने परम्परा छ।
तीनाउँ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठका अनुसार समुद्री सतहबाट करिब १,४०० मिटर उचाइमा रहेको यो पवित्र तालमा पाल्पा, गुल्मी, रुपन्देही, कपिलवस्तु, नवलपरासी, चितवन, काठमाडौँ, पोखरा लगायतका जिल्लाबाट र भारतका गोरखपुर, लखनउ र नौतनहवा क्षेत्रबाट समेत भक्तजन आउने गर्छन्।
किवदन्ती अनुसार सत्यवतीदेवी कानले नसुन्ने भएकीले भक्तजनहरूले रातमा चिच्याएर वर माग्ने चलन रहेको छ। हजारौं भक्तजनले एकैपटक वर माग्दा रातको जंगल गुञ्जायमान हुने गर्छ। जानकारहरूका अनुसार चिच्याएर वर माग्ने यो नेपालकै एक मात्र धार्मिक मेला हो।
मेलामा सहभागी भक्तजनहरूले सत्यवती बजैको पूजा गरी परेवा र वोकाको वली दिने परम्परा पनि रहिआएको छ। तानसेन–बुटवल सडकखण्डको चौबिस माइलबाट डेढ घण्टा उकालो यात्रा गरेपछि सत्यवती ताल र मन्दिरमा पुग्न सकिन्छ।

