गृहमन्त्री अर्याल जनकपुरधाममा छठ पूजामा सहभागी, चुनावी तयारी र शान्ति सुरक्षाबारे लिँदै जानकारी



जनकपुरधाम, कात्तिक ११ — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन र शान्ति सुरक्षाको अवस्थाबारे जानकारी लिन नेपाल सरकारका गृहमन्त्री ओमप्रकाश अर्याल सोमबार जनकपुरधाम आइपुगेका छन्। गृहमन्त्री अर्यालले जनकपुरधाम आगमनको क्रममा ऐतिहासिक गंगासागर पोखरीमा भइरहेको छठ पूजामा सहभागी भएर गंगा आरतीमा समेत सहभागिता जनाएका छन्।

दुई दिनका लागि जनकपुरधाम आएको गृहमन्त्रीको टोलीमा उद्योग तथा कानूनमन्त्री अनिलकुमार सिन्हा, युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता, र गृहसचिव रामेश्वर दङ्गाल पनि रहेका छन्।

गृहमन्त्री अर्यालले जनकपुरधामसँगै महोत्तरी जिल्लाका विभिन्न छठ घाटहरूमा पुगेर पूजाको अवलोकन समेत गरेका छन्।

नेपाल सरकारले फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन तोकेपछि मधेश प्रदेशमा त्यसका तयारी, सुरक्षा व्यवस्थापन र राजनीतिक वातावरणको स्थायित्वका विषयमा जानकारी लिन गृहमन्त्री अर्याल मंगलबार सुरक्षा निकायका उच्च अधिकारीहरूसँग विशेष छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ।

जनकपुरधाममा गृहमन्त्रीको उपस्थिति र गंगासागर आरतीमा सहभागिताले धार्मिक, सामाजिक र प्रशासनिक दृष्टिले क्षेत्रको सक्रियता थपिएको स्थानीयले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्