मधेसमा उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
महोत्तरी,कात्तिक ११— मधेस प्रदेशसहित देशभर छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै सम्पन्न भएको छ। पञ्चमी तिथिका दिन आइतबार मध्यरातपूर्वदेखि निराहार व्रत बसेका बर्तालुले आज सप्तमीका दिन बिहान सूर्योदयसँगै अर्घ दिँदै यस वर्षको छठ पर्व सम्पन्न गरेका हुन्।
छठ पर्वको षष्ठी तिथिमा निराहार व्रत बस्ने परम्परा अनुसार आज बिहान सूर्योदयको समयमा ‘भोरका अरख’ विधिबाट व्रत समाप्त गरिएको हो। मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्गअनुसार आज बिहान ६:१२ बजे सूर्योदय हुने उल्लेख भए पनि महोत्तरीका अधिकांश स्थानमा बिहान घाम देखिन ढिलो भएको बर्तालुहरूले बताएका छन्। बर्दिबास–२ की बर्तालु देवकला महतोका अनुसार बिहान झिसमिसेदेखि नै बादल लागेकाले सूर्यदेव देखिन केही समय पर्खनुपरेको थियो।
मिथिला क्षेत्रमा बर्तालुहरूले सूर्योदय अघि नै कम्मरसम्म पानीमा डुबेर सूर्यलाई पुकार्दै गीत गाउने परम्परा रहिआएको छ। आज घाम झुल्किएसँगै बर्तालुले अर्घ दिँदै व्रत सम्पन्न गरेका छन्।
यसअघि शनिबार कात्तिक शुक्ल चतुर्थीका दिन ‘नहाय–खाय’ विधिबाट छठ पर्व सुरु गरिएको थियो। त्यसपछि आइतबार पञ्चमीका दिन ‘खरना’ सम्पन्न गरी सोमबार साँझ अस्ताउँदो सूर्यलाई पहिलो अर्घ दिइएको थियो, जसलाई मिथिलामा ‘सझुका अरख’ भनिन्छ। आज बिहान भने उदाउँदो सूर्यलाई अर्घ दिई ‘भोरका अरख’ सम्पन्न गरिएको हो।
व्रत सम्पन्न गरेपछि बर्तालुहरू परिवार र इष्टजनसँग घर फर्किएका छन्। घरघरमा छठको प्रसादका रूपमा ठकुवा, थेकुवा, खजुरी, प्रसाद वितरण र ‘छठके सनेस’ पठाउने क्रम सुरु भएको छ। विवाहित छोरीचेली, मितिनी, आफन्तहरूलाई प्रसाद पठाउने चलन मिथिला क्षेत्रमा विशेष मानिन्छ।
पहिले मिथिला क्षेत्रमा सीमित रूपमा मनाइने छठ पर्व अहिले देशव्यापी उत्सव बनेको छ। काठमाडौंसहितका ठूला सहरहरूमा समेत उल्लासपूर्वक छठ मनाइँदै आएको छ। यस पर्वले सांस्कृतिक एकता र राष्ट्रिय सौहार्दमा योगदान पु¥याएको बुद्धिजीवीहरूको भनाइ छ।
सूर्यदेव र षष्ठी माताको आराधना गरिने यो पर्वले स्वास्थ्य, सन्तान सुख र मनोकामना पूर्तिको आशिर्वाद दिने विश्वास रहिआएको छ। छठ पर्वको अवसरमा संघीय सरकार र प्रदेश सरकारले सार्वजनिक बिदा समेत दिएका छन्।

