‘मोन्था’ चक्रवातको प्रभावः कोशी, मधेश र बागमती प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना
काठमाडौं,कात्तिक ११— बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ का कारण आगामी दिनमा नेपालको पूर्वी र मध्य भागको मौसम प्रभावित हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार चक्रवातको प्रभाव २०८२ कार्तिक १३ गते बिहीबार दिउँसोदेखि १५ गते शनिबार बिहानसम्म रहने अनुमान गरिएको छ।
विभागका अनुसार कोशी, मधेश र बागमती प्रदेशमा वर्षा र हिमपातको सम्भावना छ। मधेश र कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ भने कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा भारी हिमपातको पनि सम्भावना रहेको छ।
विभागले आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ। साथै, गृह मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (मधेश प्रदेश), आन्तरिक मामिला तथा कानून मन्त्रालय लगायतका सम्बन्धित निकायहरूलाई पूर्वतयारी र पूर्वकार्यका आवश्यक उपायहरू गर्न निर्देशन दिइएको छ।
विभागले जनजीवन, कृषि, यातायात र हवाई उडानमा पनि प्रभाव पर्न सक्ने भएकाले सतर्क रहन आग्रह गरेको छ।


