हितबहादुर तामाङको चेतावनीः ‘निर्वाचन अनिश्चित, विश्वस्त वातावरण बनेको छैन’
काठमाडौं, कात्तिक ११ — नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वमन्त्री हितबहादुर तामाङले देश हाल गम्भीर राजनीतिक अनिश्चिततामा फसेको बताएका छन्। रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको ‘संसद् पुनर्स्थापना कि निर्वाचन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले ६ महिनाभित्र निर्वाचन गर्ने मिति तोकिएर बनेको अन्तरिम सरकारले अहिले पनि स्पष्ट दिशा नदेखाएको आरोप लगाए।
नेता तामाङले भने, “निर्वाचन हुन्छ कि हुँदैन भन्ने अनिश्चितता कायमै छ। अहिले विश्वस्त वातावरण बनेको छैन।” उनले निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण निर्वाचन सुनिश्चित गर्न सरकार, राजनीतिक दल र नागरिक समाजबीच विश्वास कायम हुनुपर्ने आवश्यकता औंल्याए।
उनका अनुसार, हाल जेन–जी आन्दोलनका कारण राजनीतिक अस्थिरता थपिएको छ। “सामाजिक सञ्जालको स्वतन्त्रता र भ्रष्टाचार अन्त्य गर्ने उद्देश्यले आन्दोलन सुरु भए पनि सरकारले मागहरू बेवास्ता गरेपछि स्थिति बिग्रियो,” तामाङले भने। उनले जेन–जी आन्दोलन छोटो अवधिमा ठूलो जनधनको क्षति भए पनि उपलब्धी खासै नदेखिएको टिप्पणी गरे।
उनले थपे, “प्रधानमन्त्री केपी ओलीको ठाउँमा अहिले सुशीला कार्की प्रधानमन्त्री बनेको बाहेक राजनीतिक हिसाबले ठूलो परिवर्तन छैन। २०८४ सालमा हुने भनिएको निर्वाचन २०८२ फागुन २१ गते सारिएको छ, तर दिशानिर्देशन अझै अस्पष्ट छ।”
माओवादी केन्द्रले निर्वाचनको विकल्प नरहेको स्पष्ट पार्दै तामाङले भने, “संसद् विघटन भइसकेको अवस्थामा तोकिएको मितिभित्र चुनाव नगरी हुँदैन। तर निष्पक्ष वातावरण नबनीकन चुनाव सम्भव छैन।”
उनले हालसम्म आन्दोलनका क्रममा भएका हत्या, भागेका कैदी, खोसिएका हतियारबारे अनुसन्धान नभएको भन्दै निर्वाचनमा जनविश्वास संकटमा परेको बताए। तामाङले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीबारे पनि माओवादी केन्द्र खुला रहेको जनाउँदै भने, “यदि प्रत्यक्ष निर्वाचित कार्यकारीको संवैधानिक व्यवस्था गर्न गोलमेच सम्मेलन गरेर संविधान संशोधन गर्ने हो भने माओवादी तयार छ।”
कार्यक्रममा उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको “गलत निर्णय” का कारण देशले ठूलो क्षति बेहोरेको दाबी गरे। उनका अनुसार, “७६ जनाको ज्यान गयो, खर्बौंको क्षति भयो। अहिले एमालेले त्यसकै कारण जनतामाझ जान सकिरहेको छैन।”
उनले नेपाली कांग्रेसले पनि ओलीसँग हात मिलाएर गल्ती गरेको आरोप लगाए। “२३ जना विद्यार्थीको मृत्यु भएपछि कांग्रेसले समर्थन फिर्ता लिएको भए शेरबहादुर देउवा प्रधानमन्त्री बन्न सक्थे,” तामाङले भने, “तर ओलीको ब्ल्याकमेलिङमा परेर कांग्रेसले ठूलो अवसर गुमायो।”
तामाङका अनुसार, अहिलेको स्थिति समाधान गर्न संसद् पुनः व्युँताएर संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जानु नै व्यावहारिक विकल्प हो।

