ओलीले जेनजीसहितको सहभागितामा सर्वपक्षीय सरकार गठनको प्रस्ताव राखे
काठमाडौँ,कात्तिक १२ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा उत्पन्न वर्तमान राजनीतिक संकट समाधानका लागि जेनजीसहितको सहभागितामा सर्वपक्षीय सरकार गठन गर्ने प्रस्ताव अघि सारेका छन्। सोमबार राष्ट्रिय मानवाधिकार तथा सामाजिक न्याय मञ्च (मानवाधिकार एलायन्स) को टोलीसँग भेटवार्ताका क्रममा ओलीले प्रतिनिधिसभा पुनःस्थापना, संविधान संशोधनदेखि आफू प्रधानमन्त्री नबन्ने प्रतिज्ञासमेत समेटिएको विस्तृत मार्गचित्र प्रस्तुत गरेका हुन्।
पार्टीका केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार ओलीले पहिलो चरणमा विघटित प्रतिनिधिसभालाई उल्ट्याई पुनःस्थापना गर्नुपर्ने बताएका छन्। उनका अनुसार संसद् विघटनले संविधानको आत्मामा गम्भीर चोट पुर्याएको र त्यसलाई सच्याउन पुनःस्थापना अनिवार्य भएको ओलीको तर्क थियो।
भेटवार्तामा ओलीले संविधान संशोधनमार्फत संसद् सदस्य नभए पनि राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपतिबाट प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था मिलाउनुपर्ने धारणा राखे। दलहरूको सहमतिमा गैरसांसद व्यक्ति पनि कार्यकारी नेतृत्व लिन सक्ने प्रावधान अब आवश्यक देखिएको उनको भनाइ थियो।
वर्तमान तनावलाई थप नथपिने गरी आफू पुनः प्रधानमन्त्री नबन्ने घोषणा पनि ओलीले गरे। उनले वर्तमान जटिल परिस्थितिमा व्यक्तिगत पदलोलुपता होइन, राष्ट्रिय सहमतिको राजनीति आवश्यक भएको बताए।
ओलीले जेनजीसहित सबै पक्षको सहभागितामा सर्वदलीय वा सर्वपक्षीय सरकार गठन गर्नुपर्नेमा पनि जोड दिए। राजनीतिक अविश्वास, प्रतिस्पर्धा र पद–आकाङ्क्षाको वातावरणबीच साझा सरकार नै समाधान हुने उनले बताए।
सहमतिको आधारमा बन्ने यस्तो सरकारलाई आगामी निर्वाचनमा मात्र केन्द्रित गरिनुपर्ने उल्लेख गर्दै उनले यसको लागि प्रमुख राजनीतिक दलहरूबीच अग्रिम सहमति अनिवार्य भएको बताए।
ओलीको यो प्रस्तावलाई वर्तमान राजनीतिक परिस्थितिबाट मार्ग निकाल्ने एउटा प्रयासका रूपमा हेरिएको छ।

