मौसम पूर्वानुमान सेवा अब वर्षभरि नियमित रूपमा सञ्चालन हुने
काठमाडौं,कात्तिक १२ — जल तथा मौसम विज्ञान विभागले मौसम पूर्वानुमान सेवा अब वर्षभरि ३६५ दिन नै नियमित रूपमा सञ्चालन गर्ने जनाएको छ। विभागले आज जारी गरेको सूचनामा मौसमसम्बन्धी सूचना अब अविरल रूपमा उपलब्ध गराइने उल्लेख गरेको हो।
यसअघि मौसम पूर्वानुमान र हवाई उडड्यनसम्बन्धी सेवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित कार्यालयमार्फत प्रदान हुँदै आएको थियो। अबदेखि मौसम पूर्वानुमान सेवा विभागको केन्द्रीय कार्यालय बबरमहलबाट सञ्चालन गरिनेछ भने हवाई उडड्यनसम्बन्धी सेवा भने विमानस्थल परिसरमै यथावत् रहनेछ।
विभागका अनुसार मौसम पूर्वानुमान सेवा विशेष परिस्थितिबाहेक प्रत्येक दिन बिहान ६ बजे देखि साँझ ६ बजेसम्म दुई ‘सिफ्ट’मा सञ्चालन हुनेछ। विभागले नियमित सूचना, पूर्वानुमान र आवश्यक चेतावनीहरू समयमै उपलब्ध गराइने भएकाले आम नागरिक, कृषक, यात्रु तथा सम्बन्धित निकायलाई थप सहज हुने विश्वास व्यक्त गरेको छ।

