निर्वाचनमा उच्च सतर्कता अपनाउन गृहमन्त्री अर्यालको निर्देशन
महोत्तरी,कात्तिक १२। आगामी फागुन २१ गते हुने निर्वाचनलाई शान्तिपूर्ण र सफल बनाउन गृहमन्त्री ओमप्रकाश अर्यालले सुरक्षा निकायलाई उच्च सतर्कता र सुदृढ तयारीका साथ खटिन निर्देशन दिएका छन्।
महोत्तरीको बर्दिबासस्थित सशस्त्र प्रहरी बल नम्बर २ छिन्नमस्ता बाहिनीमा मंगलबार आयोजित सुरक्षा बैठकमा गृहमन्त्री अर्यालले निर्वाचनको सफलता सुनिश्चित गर्न सुरक्षाकर्मीको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको बताए। उनले सबै निकायलाई उच्च मनोबलका साथ रणनीतिक ढंगले सुरक्षा व्यवस्था मिलाउन आह्वान गरे।
गृहमन्त्री अर्यालले जेनजी पुस्ताको आन्दोलन सुशासन र सुरक्षासँग सम्बन्धित रहेको उल्लेख गर्दै नागरिक सुरक्षाप्रति सरकार संवेदनशील रहेको स्पष्ट पारे। मधेश प्रदेश सुरक्षाको दृष्टिले संवेदनशील भएकाले त्यसलाई विशेष प्राथमिकता दिन निर्देशन दिए।
उनका अनुसार सुदृढ सुरक्षा प्रणाली निर्माणका लागि आवश्यक सेवा र सुविधा सरकारबाट उपलब्ध गराइनेछ। उनले राजनीतिक निकासका लागि चुनाव अपरिहार्य रहेको उल्लेख गर्दै अधिकांश दलहरूको सकारात्मक धारणा बीच अब निर्वाचनको अनुकूल वातावरण बन्दै गएको बताए।
बैठकमा गृह मन्त्रालयका सचिव रामेश्वर दंगाल, मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव, धनुषा, महोत्तरी, सर्लाही र सिरहा जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरीका मधेश प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक, सशस्त्र प्रहरीका नायब सशस्त्र प्रहरी महानिरीक्षक, चारै जिल्लाका प्रहरी उपरीक्षक, सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू सहभागी थिए।

