शक्तिशाली ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा बढ्दै, तीन दिनसम्म भारी वर्षा–हिमपातको चेतावनी
काठमाडौँ, कात्तिक १३ । बङ्गालको खाडीबाट उत्पन्न शक्तिशाली चक्रवात ‘मोन्था’ को प्रभाव नेपालमा तीव्र रूपमा महसूस हुन थालेको छ। अरेबियन सागरबाट अघि बढेको उक्त प्रणालीले शक्ति बढाउँदै भारतको आन्ध्र प्रदेश हुँदै बुधबार नेपाल प्रवेश गरेपछि देशभर मौसम अस्थिर बनेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार ‘मोन्था’ हालसम्म देखिएका चक्रवातहरूभन्दा बलियो भएकाले यसका असर शनिबारसम्म जारी रहने छ। यसबीच विशेषगरी पूर्व, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा लगातार वर्षा हुने, उच्च हिमाली क्षेत्रमा बाक्लो हिमपातसम्म हुने सम्भावना छ। कर्णाली र सुदूरपश्चिमका केही उच्च पहाडी क्षेत्रमा समेत भीषण वर्षा र हिमपातको जोखिम रहने महाशाखाले बताएको छ।
मौसमविद् बिनु महर्जनका अनुसार बिहीबार र शुक्रबार देशका अधिकांश भागमा मध्यमदेखि भारी वर्षा हुनेछ भने शनिबार दिउँसोपछि मात्र चक्रवात कमजोर हुँदै जाने अनुमान छ। लगातारको वर्षाले नदी–नाला र खोला–खोल्सामा पानीको बहाब बढ्ने भएकाले बागमती, कमला, कोशी, कन्काई लगायतका नदीमा सतर्कता अपनाउन आग्रह गरिएको छ।
चक्रवातको प्रभावले विशेषगरी काठमाडौँ उपत्यका तथा मधेश प्रदेशका बारा, पर्सा, सर्लाही लगायतका जिल्लामा बाढी–डुबानको जोखिम उच्च देखिएको छ। कोशी प्रदेशका धेरै जिल्लामा आकस्मिक बहाब, पहिरो र क्षतिका सम्भावनासमेत रहेको बाढी पूर्वानुमान महाशाखाले चेतावनी दिएको छ।
बढ्दो जोखिमलाई ध्यान दिँदै राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रभावित प्रदेश र जिल्लालाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ। जिल्लागत जोखिम वर्गीकृत गर्दै स्थानीय तह, सुरक्षा निकाय र स्वयंसेवकलाई सतर्क रहन भनिएको छ।
आगामी तीन दिन अत्यावश्यक कामबाहेक यात्रा नगर्न, नदी किनार र डुबान सम्भावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा बस्न र काटिएको बाली तात्कालिक रूपमा सुरक्षित राख्न प्राधिकरणले आग्रह गरेको छ।

