नेपाल–भारतबिच दुई नयाँ ४०० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि सम्झौता



काठमाडौँ, कात्तिक १३। नेपाल र भारतबीच अन्तरदेशीय विद्युत् व्यापारलाई थप सुदृढ बनाउँदै इनरुवा–पूर्णिया र लम्की–दोधारा–बरेली ४०० केभी प्रसारण लाइन निर्माणका लागि संयुक्त कम्पनी स्थापना र स्वपुँजी लगानी गर्ने सम्झौता भएको छ। सम्झौतापत्रमा बुधबार नयाँ दिल्लीमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ र भारतका विद्युत्मन्त्री मनोहरलाल खट्ठरको उपस्थितिमा हस्ताक्षर सम्पन्न भयो।

नेपाल विद्युत् प्राधिकरणतर्फबाट उपकार्यकारी निर्देशक सुभाषकुमार मिश्र र पावर ग्रिड कर्पोरेसन अफ इन्डियाका अन्तर्राष्ट्रिय व्यवसाय प्रमुख सञ्जयकुमार गुप्ताले सम्झौतामा हस्ताक्षर गरे। दुई प्रसारण लाइन निर्माणबाट नेपालले उत्पादित विद्युत् भारत तथा क्षेत्रीय ऊर्जाबजारसम्म पुर्‍याउन सघाउने र वैदेशिक लगानी भित्र्याउन मद्दत पुग्ने मन्त्री घिसिङले बताए। भारतीय विद्युत्मन्त्री खट्ठरले प्रसारण लाइन विस्तारले दुवै देशबीच विद्युत् विनिमय अझ मजबुत हुने विश्वास व्यक्त गरे।

गत ३० असोजमा मन्त्रिपरिषद्ले प्राधिकरण र पावर ग्रिडले संयुक्त रूपमा दुवै देशमा कम्पनी स्थापना गर्न स्वीकृति दिएको थियो। तय भएकाे मोडालिटीअनुसार भारतमा स्थापना हुने संयुक्त कम्पनीमा प्राधिकरणको ४९ प्रतिशत र पावर ग्रिडको ५१ प्रतिशत सेयर रहनेछ। नेपालमा गठन हुने कम्पनीमा भने प्राधिकरणको ५१ प्रतिशत र पावर ग्रिडको ४९ प्रतिशत हिस्सेदारी रहनेछ।

दुवै प्रसारण लाइन निर्माणका लागि ८० प्रतिशत ऋण र २० प्रतिशत स्वपुँजी रहने गरी वित्तीय संरचना बनाइनेछ। इनरुवा–पूर्णिया प्रसारण लाइनको २६ किलोमिटर नेपाली र १०९ किलोमिटर भारतीय भूभागमा पर्नेछ। त्यस्तै लम्की–बरेली लाइनको ३३ किलोमिटर नेपाली र १८५ किलोमिटर भारतीय भूभागमा निर्माण हुनेछ। सन् २०१९ मा तयार पारिएको प्रारम्भिक अध्ययनअनुसार यी प्रसारण लाइनका नेपाली तथा भारतीय खण्डमा आठ अर्ब रुपैयाँभन्दा बढी लागत अनुमान गरिएको छ।

नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको २०२५ फेब्रुअरी ११ मा नयाँ दिल्लीमा बसेको बैठकले निर्माण तथा लगानी मोडालिटीमा सहमति दिएको थियो। त्यसपछि निरन्तर छलफल हुँदै २०२५ अप्रिल २२ मा संयुक्त कम्पनी गठनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको थियो। दुवै प्रसारण लाइन सन् २०३० भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

हाल दुई देशबीच ४०० केभी ढल्केबर–मुजफ्फपुर प्रसारण लाइन सञ्चालनमा छ भने बुटवल–गोखरपुर प्रसारण लाइन निर्माणाधीन छ। नेपालले ४०० र १३२ केभी प्रसारण लाइन प्रयोग गरी भारत तथा बङ्गलादेशतर्फ दैनिक एक हजार मेगावाटभन्दा बढी विद्युत् निर्यात गरिरहेको प्राधिकरणले जनाएको छ।

घिसिङ–खट्ठर भेटवार्ता

अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको आठौँ महासभामा सहभागिता जनाउन नयाँ दिल्ली पुगेका मन्त्री कुलमान घिसिङ र भारतीय समकक्षी मनोहरलाल खट्ठरबीच बुधबार विद्युत् सहकार्यका विभिन्न विषयमा विस्तृत छलफल भएको छ। भेटवार्तामा प्रसारण लाइन विस्तार, विद्युत् व्यापार, भारतीय लगानीमा निर्माणाधीन जलविद्युत् आयोजनाको प्रगति तथा दीर्घकालीन ऊर्जासाझेदारीबारे कुराकानी भएको मन्त्री घिसिङको सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्