‘मोन्था’ चक्रवातको प्रभाव : देशभर वर्षा, उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना
काठमाडौँ, कात्तिक १३ — बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ का कारण देशका अधिकांश भागमा बिहीबारदेखि मौसम बदली रहँदै वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार यो प्रभाव शनिबार बिहानसम्म रहने छ।
जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा छिटपुट वर्षा हुने, अन्य प्रदेशहरूमा मध्यम वर्षा हुने अनुमान गरिएको छ। उनले शनिबार बिहानदेखि मात्र मौसम क्रमशः सुधार आउने बताइन्।
उनका अनुसार आगामी २४ घण्टामा काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा समय–समयमा वर्षा हुनेछ। “सबै ठाउँमा निरन्तर वर्षा नहोला तर पानी पर्ने सम्भावना धेरै छ,” प्रवक्ता पोखरेलले जानकारी दिइन्।
त्यस्तै कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा एक–दुई स्थानमा भारी हिमपातको सम्भावना रहेको विभागले जनाएको छ। विभागले हिउँ तथा वर्षाका कारण सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ।

