बैतडीमा भीरबाट लडेर तीनजनाको मृत्यु



बैतडी,कात्तिक १३ — जिल्लाका विभिन्न स्थानमा भीरबाट लडेर तीनजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मेलौली नगरपालिका–७ पचकोराका ५५ वर्षीय भीमसिंह रावत, शिवनाथ गाउँपालिका–५ बारुलोजनीका ६१ वर्षीय इन्द्रसिंह साउद र डिलासैनी गाउँपालिका–७ ढाँणकी ५८ वर्षीया हरुली कार्की छन्।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडूका अनुसार भीमसिंह रावत बुधबार शिवनाथ धाममा जात्रा हेर्न गएका थिए। घर नफर्केपछि प्रहरीको खोजतलास सुरु गरिएको थियो। आज दिउँसो शिवनाथ–६ ओल्या भीरदेखि करिब ५०० मिटर तल उनको शव फेला परेको प्रहरीले जानकारी दिएको छ।

इन्द्रसिंह साउदको पनि शिवनाथ जात्राबाट फर्किने क्रममा भीरबाट लडेर मृत्यु भएको छ। त्यस्तै, बुधवारदेखि हराइरहेकी हरुली कार्की न्यौटे भन्ने स्थानमा खर काट्ने क्रममा भीरबाट लडेको अवस्थामा मृत फेला परेको प्रहरी निरीक्षक बडूले बताए।

तीनवटै घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्