बीपी राजमार्गमा राति सवारी चलाउन निषेध, काभ्रे–सिन्धुली प्रशासनको संयुक्त निर्णय



काठमाडौँ,कात्तिक १३— बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को प्रभावले देशभर वर्षा भइरहेकाले बीपी राजमार्गमा रातिको सवारी सञ्चालन रोकिएको छ। काभ्रेपलाञ्चोक र सिन्धुली जिल्ला प्रशासनले बिहीबार छुट्टाछुट्टै सूचना जारी गर्दै राति सवारी आवागमन पूर्ण रूपमा निषेध गरिएको जानकारी दिएका हुन्।

काभ्रेपलाञ्चोक प्रशासनका अनुसार बिहीबार साँझ ५ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म बीपी राजमार्गको काभ्रे भञ्ज्याङदेखि सिन्धुलीसम्मको खण्डमा सबै प्रकारका सवारी चलाउन रोक लगाइएको हो। लगातारको वर्षा र संभावित बाढी–पहिरोको जोखिमलाई ध्यानमा राखेर निर्णय गरिएको प्रशासनले जनाएको छ।

त्यसैगरी, सिन्धुली–खुर्कोटबजार हुँदै काठमाडौँतर्फ आउने सवारीसाधन पनि आज र भोलि साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालनमा निषेध गरिएको काभ्रे प्रशासनले स्पष्ट पारेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार चक्रवात ‘मोन्था’ को प्रभाव शनिबार बिहानदेखि मात्र कमजोर हुने र त्योपछि मौसम सुधार हुने अनुमान रहेको छ। वर्तमान वर्षाका कारण पहिरोको जोखिम उच्च भएकाले प्रशासनले यात्रु तथा चालकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्