तनहुँमा चितुवाको आक्रमण, २२ वर्षीया युवती घाइते



तनहुँ,कात्तिक १३ । तनहुँको व्यास नगरपालिका–८, बाहुनपोखरा रिस्तीमा चितुवाको आक्रमणबाट एक युवती घाइते भएकी छन्। बुधबार साँझ घरमै आएर २२ वर्षीया आशिका पौडेलमाथि चितुवाले आक्रमण गरेको हो।

वडा सदस्य रामप्रसाद मिश्रका अनुसार पौडेल साँझ करिब ८:१५ बजे आँगनमा भाँडा माझिरहेको अवस्थामा चितुवा अचानक आएर आक्रमण गरेको थियो। आक्रमणका कारण उनको टाउको र काँधमा गम्भीर चोट लागेको बताइएको छ। स्थानीयले ठूलो आवाज निकालेर चितुवालाई भगाएपछि पौडेललाई उद्धार गरिएको मिश्रले जानकारी दिए।

घटनापछि आसपासका बासिन्दा त्रासमा परेका छन्। पछिल्लो समय सो क्षेत्रमा चितुवाको दोहोरो उपस्थिति देखिँदै आएको तथा बाख्रा, कुखुरा जस्ता घरपालुवा जनावर हराउने घटना बढिरहेको स्थानीयको भनाइ छ।

घाइते पौडेललाई प्राथमिक उपचारका लागि लमजुङको मध्यनेपाल–४, दुईपिप्लेस्थित अस्पताल पुर्याइएको थियो। अस्पतालका सञ्चालक रमेशचन्द्र भट्टराईका अनुसार युवतीको टाउको र काँधमा नङ र दाँतका कारण घाउ भए पनि अहिले अवस्थास्थिर रहेको छ।

चितुवाको जोखिम बढेपछि डिभिजन वन कार्यालय तनहुँले साँझपख तथा झिसमिसे समयमा घरबाहिर ननिस्कन, स–साना बालबालिकालाई विशेष निगरानीमा राख्न र आफ्नो सुरक्षामा ध्यान दिन आग्रह गरेको छ। स्थानीयले भने चितुवाको आतंक नियन्त्रणका लागि सम्बन्धित निकायले तत्काल प्रभावकारी कदम चाल्न माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्