लगातार वर्षाका कारण बीपी राजमार्गका धेरै स्थान अवरुद्ध, काभ्रे–सिन्धुली खण्डमा सवारी चल्न नसक्ने



काभ्रे, कात्तिक १४ — लगातार वर्षापछि बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक क्षेत्रका धेरै स्थानमा पहिरोसहित लेदो बगेर सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। काभ्रेको नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा र रोशी गाउँपालिकाका विभिन्न स्थानमा आज बिहान सडक माथिबाट लेदो, ढुङ्गा र माटो खसेपछि दुवै दिशातर्फ यातायात ठप्प भएको हो।

रोशी–७ स्थित चारसय बेँसी, वडा नं ९ को बिरुवाडाँडा, बोक्सेकुना, नार्के र वडा नं ११ को डालाबँसी क्षेत्रमा पहिरो तथा लेदो खसेपछि सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपालाञ्चोकका प्रहरी नायब उपरीक्षक (डीएसपी) रबिन विष्टले जानकारी दिनुभयो। उहाँका अनुसार डोजर र प्रहरी तथा स्थानीयको सहयोगमा अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ।

वर्षाका कारण लगातार पहिरो झर्ने जोखिम उच्च रहेकाले स्थानीय प्रशासनले हिजो साँझ ५ बजेदेखि आज बिहान ६ बजेसम्म बीपी राजमार्गको काभ्रेभञ्ज्याङ–भकुण्डेबेँसी–सिन्धुली खण्डमा एम्बुलेन्स तथा अत्यावश्यक सेवाबाहेक सबै प्रकारका सवारीसाधन आवागमनमा रोक लगाएको थियो।

सडक अवरुद्ध हुँदा काभ्रे, सिन्धुली र मधेसतर्फ आउजाउ गर्ने धेरै यात्रु बीचमै रोकिएका छन्। पहिरो हटाएर सडक सञ्चालनमा ल्याउन मौसमअनुसार आवश्यक पहल भइरहेको प्रशासनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्