नेकपा (एमाले) अध्यक्ष ओलीको आह्वान : “जहाँ हुनुहुन्छ, फर्किनुस्, आफ्नै घर फर्किनुस्”
काठमाडौं,कात्तिक १४ । पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत जारी गरेको स्टाटसमार्फत एमालेका पुराना नेता–कार्यकर्तालाई ‘फर्किन’ आह्वान गरेका छन्। शुक्रबार उनले आफ्नो आधिकारिक फेसबुक मार्फत एक विस्तृत राजनीतिक अभिव्यक्ति सार्वजनिक गर्दै देश गम्भीर मोडमा पुगेको दाबी गरेका हुन्।
ओलीले पार्टीलाई जनताको “रगत, पसिना, आँसु र आशाबाट बनेको विशाल परिवार” को रूपमा वर्णन गर्दै तीन पुस्ताको योगदानले एमाले उभिएको बताएका छन्। “कसैले जेलयातना भोगे, कतिले जीवन बलिदान गरे, कसैले युवावस्था आन्दोलनमा अर्पण गरे,” भन्दै उनले पार्टी निर्माणमा भएको निरन्तर त्यागको चर्चा गरे।
उनको भनाइअनुसार, एमालेले इतिहासभरि निरंकुशता विरुद्ध, राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको संरक्षणका लागि अग्रपंक्तिमा रहेर नेतृत्वदायी भूमिका खेलेको छ। सामाजिक सुरक्षा कार्यक्रम, विकासका संरचना निर्माणदेखि समृद्ध नेपालको आधारशिला निर्माणसम्म पार्टीले महत्वपूर्ण योगदान दिएको ओलीको दाबी छ।
हाल देश ‘महाविनाशतर्फ धकेलिएको’ र लोकतान्त्रिक संविधानमाथि ‘आक्रमण भइरहेको’ आरोप लगाउँदै ओलीले राष्ट्रिय एकता र स्वाभिमान जोगाउन सबै एकढिक्का हुनुपर्ने बताएका छन्।
यसै सन्दर्भमा उनले विगतः एमाले निर्माण तथा विस्तारमा साथ दिएका तर अहिले पार्टीबाट टाढा रहेका नेताहरूसँग विशेष अपिल गर्दै भनेका छन्—“जहाँ हुनुहुन्छ, फर्किनुस्, आफ्नै घर फर्किनुस्। यो घर तपाईंहरूको पसिना र रगतले बनेको हो।”
ओलीले कार्यकर्तालाई अलमलमा नपर्न, पार्टीमा पुनः एकजुट हुन र “समृद्ध नेपाल, सुखी नेपाली” को साझा लक्ष्य पूरा गर्न जोड दिए।
अन्त्यमा उनले राष्ट्रिय स्वाधीनता, लोकतन्त्रको सुरक्षा र जनताको सुख–समृद्धिका लागि निर्णायक राष्ट्रिय शक्ति निर्माणमा जुट्न सबैलाई आह्वान गरेका छन्।

