नेकपा एकीकृत समाजवादीले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय



काठमाडौं,कात्तिक १५ । नेकपा एकीकृत समाजवादीले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय गरेको छ। पार्टीको केन्द्रीय कमिटी बैठकले पार्टी एकतालाई नीतिगत रूपमा अनुमोदन गर्दै त्यसका सम्पूर्ण प्रक्रियागत तथा प्राविधिक पक्ष सचिवालयमार्फत टुंग्याउने जिम्मेवारी प्रदान गरेको उपाध्यक्ष प्रकाश ज्वालाले जानकारी दिनुभयो।

उपाध्यक्ष ज्वालाका अनुसार बैठकमा प्रस्तुत एकताको एजेन्डालाई बहुमत सदस्यहरूले समर्थन जनाएका थिए।“हामीले नीतिगत रूपमा पार्टी एकता गर्ने निर्णय गरेका छौं। प्रक्रियागत र प्राविधिक सबै पक्ष सचिवालयमार्फत टुंग्याउने अधिकार दिइएको छ,” ज्वालाले भन्नुभयो।

यद्यपि, पार्टी एकताको एजेन्डा अघि बढाइएकै दिन एकीकृत समाजवादीभित्र यस विषयमा मतभेद र असन्तुष्टि देखिएको बताइएको छ। केही नेताहरूले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय उचित नठानेर चिन्ता र आपत्ति व्यक्त गरेका छन्।

बैठकमा पार्टी अध्यक्षले पार्टी एकताको प्रस्ताव सार्वजनिक रूपमा प्रस्तुत गर्दा केही सदस्यहरूले तर्कसहित समर्थन गरे भने केहीले संगठनात्मक अस्तित्व, कार्यदिशा र राजनीतिक प्रभावका विषय उठाउँदै प्रश्न चिन्ह खडा गरेको स्रोतले बताएको छ।

पार्टी एकता सम्बन्धी अन्तिम प्रक्रिया भने अब सचिवालयमार्फत अघि बढाइने छ।

प्रतिक्रिया दिनुहोस्