बञ्चरेडाँडामा फोहोर समस्याको चर्को आलोचना, हितबहादुर तामाङले गरे सरकारको ध्यानाकर्षण



नुवाकोट, कार्तिक १५। माओवादी नेता हितबहादुर तामाङले बञ्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साइटमा वर्षौंदेखि कायम रहेको फोहोर व्यवस्थापन समस्याप्रति कडा आपत्ति जनाएका छन्। आफ्नो फेसबुक स्टाटसमार्फत उनले “फोहोर र मान्छे सँगै राख्न नहुने” भन्दै प्रभावित क्षेत्रको समस्या अब तत्काल समाधान गर्न सरकारलाई आग्रह गरेका हुन्।

काठमाडौं उपत्यकाको फोहोर नुवाकोट–धादिङ सीमास्थित बञ्चरेडाँडामा ल्याएर फाल्न सुरु गरेको २० वर्ष नाघिसक्दा पनि स्थानीयले झेलिरहेको समस्यामा कुनै सुधार नभएको तामाङले उल्लेख गरेका छन्। २०६२ जेठ १ गते काठमाडौं र ललितपुर महानगर, फोहोर व्यवस्थापन तथा स्रोत परिचालन केन्द्र र ओखरपौवा स्यानिटरी ल्याण्डफिल साइट मुख्य समन्वय समितिबीच भएको सम्झौतासँगै फोहोर व्यवस्थापन थालिएको थियो। तर स्थानीयले विकासको आशामा दिएको सहयोग समयसँगै अभिशाप बनेको तामाङको टिप्पणी छ।

उनका अनुसार फोहोरका कारण शान्त, हराभरा र सुन्दर गाउँहरू आज नर्कसरह प्रदूषण र स्वास्थ्य जोखिममा धकेलिएका छन्। स्थानीयले वर्षेनि आन्दोलन गर्ने, सरकारसँग सम्झौता हुने तर कार्यान्वयन नहुने परम्परा दोहोरिँदै आएको उनले स्मरण गराएका छन्।

तामाङले २०८० वैशाख २९ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयोजकत्वमा सिंहदरबारमा बसेको उच्चस्तरीय बैठकलाई समस्याको दिगो समाधानतर्फको ऐतिहासिक पहलका रूपमा वर्णन गरेका छन्। उक्त बैठकमा प्रधानमन्त्री, उपप्रधान तथा गृहमन्त्री, शहरी विकास मन्त्री, संघीय मामिला मन्त्री, स्वास्थ्य मन्त्री, बागमती प्रदेशका मुख्यमन्त्री, प्रदेश मन्त्रीहरू, तथा तीनै जिल्लाका अधिकांश सांसद र जनप्रतिनिधिहरू सहभागी थिए। बैठकले प्रभावित क्षेत्रको जग्गा सिमांकन, मुआब्जा, अधिकरण गठन, लिच्डेट व्यवस्थापन लगायतका योजना १० दिनभित्र पेस गर्ने निर्णय गरेको थियो।

तर निर्णय कार्यान्वयन गर्ने जिम्मेवारी पाएकी तत्कालीन शहरी विकास मन्त्री सिता गुरुङले समय अभाव र आवश्यक समन्वय नहुँदा कार्ययोजना प्रस्तुत गर्न नसकेको तामाङले जनाएका छन्। त्यसपछि प्रचण्ड नेतृत्वको सरकार परिवर्तन हुँदा निरन्तरता नपाएको र केपी शर्मा ओली नेतृत्वको सरकारले पनि यो विषयमा चासो नदिँदा समस्या यथावत् रहेको उनको आरोप छ।

हाल जेन्जी आन्दोलनपछि बनेको प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारप्रति भने तामाङले आशा व्यक्त गरेका छन्। कार्तिक १२ गतेदेखि आन्दोलनमा उत्रिएका बञ्चरेडाँडा प्रभावित जनसमुदायका माग पूर्ण रूपमा जायज भएको भन्दै उनले वर्तमान सरकारलाई तिनलाई प्राथमिकताका साथ सम्बोधन गर्न आग्रह गरेका छन्। नुवाकोटका पूर्व तथा वर्तमान जनप्रतिनिधिहरूको तर्फबाट आफूहरू आन्दोलनमा ऐक्यबद्ध भएर उभिएको तामाङले बताएका छन्।

तामाङले सरकारलाई स्पष्ट सन्देश दिँदै लेखेका छन्, “फोहोर सदाका लागि बन्द गरियोस्, होइन भने प्रचण्ड नेतृत्वमा भएको निर्णय कार्यान्वयन गरी प्रभावित क्षेत्रका जनतालाई मुआवजासहित फोहोरमुक्त क्षेत्रमा जान बाटो खोलियोस्।”

उनले आफ्नो स्टाटसमा प्रचण्ड सरकारले गरेको उच्चस्तरीय निर्णयको प्रतिलिपीसमेत सार्वजनिक गरेका छन्।

प्रतिक्रिया दिनुहोस्