नुवाकोट पञ्चकन्याको बच्छलादेवी मन्दिरमा वार्षिक मेला भोलिदेखि, यस्तो छ तयारी
नुवाकोट, कात्तिक १७ । जिल्लाको पञ्चकन्या गाउँपालिका–५ भद्रुटार चुहानडाडास्थित बच्छलादेवी मन्दिरमा लाग्ने वार्षिक मेलाको तयारी तीव्र बनेसँगै यस वर्ष पनि ठूलो संख्यामा भक्तजनहरूको उपस्थितिको अनुमान गरिएको छ। मन्दिर संरक्षण समितिका अनुसार मंगलबार साँझदेखि सुरु हुने मेलाका लागि सरसफाइ, बिजुलीबत्तीको व्यवस्था र सम्पूर्ण तयारी कार्य अन्तिम चरणमा पुगेको छ।
समितिका सदस्य जीवन सिटौलाका अनुसार रात्रीकालीन मेला हुने भएकाले विशेष रूपमा प्रकाश व्यवस्थापन र मन्दिर परिसरको सफाइमा ध्यान केन्द्रित गरिएको छ। गाउँकी देवीका रूपमा पूजिने बच्छलादेवी मन्दिर परिसरमा हरेक वर्ष कार्तिक शुक्ल चतुर्दशीका दिन भव्य रूपमा मेला लाग्ने परम्परा कायम रहँदै आएको छ।
साँझदेखि भक्तजनहरूले दीपप्रज्वलन गर्दै जाग्राम बसेर भजन, चुट्का र विभिन्न धार्मिक कार्यक्रम सञ्चालन गर्ने परम्परा यस वर्ष पनि निरन्तर रहनेछ। मेलालाई थप आकर्षक बनाउन यस वर्ष स्थानीयदेखि राष्ट्रिय स्तरका कलाकारहरूको सहभागितामा विशेष प्रत्यक्ष दोहोरी कार्यक्रम पनि समावेश गरिएको छ।
ख्यातिप्राप्त गायक बद्री सिटौला, जगत बोगटीलगायतका कलाकारहरूले रातभर सांगीतिक प्रस्तुती गर्ने जानकारी मन्दिर संरक्षण समितिका सदस्य जीवन तामाङले दिएका छन्। साथै झाक्री नाच, लोक खैचडी भजन लगायतका सांस्कृतिक प्रस्तुतीहरूले मेलालाई अझै रौनक दिनेछन्।
औपचारिक कार्यक्रमका प्रमुख अतिथि पञ्चकन्या गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङ रहने आयोजकले जनाएको छ। पञ्चकन्या, महाकाली, थानापति, कबिलास तथा काठमाडौंबाट समेत भक्तजनको भीड लाग्ने भएकाले सुरक्षा व्यवस्थालाई विशेष प्राथमिकताका साथ मजबुत बनाइएको समितिले जनाएको छ।

