रुपन्देहीका चार उद्योगले प्रिमियम महसुलको पहिलो किस्ता बुझाएपछि काटिएको विद्युत् लाइन पुनः जडान



रुपन्देही,कात्तिक १८ — डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गर्दै आएका रुपन्देहीका पञ्चकन्या प्लास्टिक उद्योग, पञ्चकन्या स्टिल इन्डस्ट्रिज, सिद्धार्थ पेटप्लान्ट र श्याम प्लास्टिकले प्रिमियम महसुलको बक्यौता रकम नेपाल विद्युत् प्राधिकरणलाई बुझाएका छन्। सोमबार पहिलो किस्ता तिरिएपछि नेपाल विद्युत् प्राधिकरणले ती उद्योगमा काटिएका लाइन पुनः जडान गरेको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिएका छन्।

उद्योगहरूले २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोगबापत तिर्नुपर्ने प्रिमियम महसुलको बक्यौता रकममध्ये पहिलो किस्ता बुझाएका हुन्। पञ्चकन्या प्लास्टिकले २४ लाख ६३ हजार, पञ्चकन्या स्टिलले ५२ लाख १९ हजार, सिद्धार्थ पेटप्लान्टले एक करोड ८३ लाख र श्याम प्लास्टिकले ४९ लाख १० हजार रुपैयाँ बक्यौता बुझाएका छन्। बक्यौता रकमलाई २८ किस्तामा विभाजन गरिएको छ।

लाइन काटिएका पञ्चकन्या स्टिल र पञ्चकन्या प्लास्टिकले समस्या समाधानका लागि विद्युत् नियमन आयोगमा निवेदन पनि दिएका छन्। आयोगका अध्यक्ष रामप्रसाद धितालले दुवै उद्योगको निवेदन दर्ता भई अध्ययन भइरहेको जानकारी दिएका छन्। प्राधिकरणले असोज ७ गते बक्यौता नतिरेको भन्दै ती उद्योगको लाइन काटेको थियो।

यसबीच, डेडिकेटेड तथा ट्रङ्क लाइन महसुल विवाद समाधानका लागि प्रधानमन्त्री सुशीला कार्कीले प्रत्यक्ष पहल थालेकी छन्। उनले सोमबार अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ, उद्योग तथा वाणिज्यमन्त्री अनिल सिन्हा, मुख्य सचिव एकनारायण अर्याल, सम्बन्धित सचिवहरू र नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालसँग छलफल गरेकी हुन्। छलफलमा उद्योगहरूले प्राधिकरणले तोकेको २८ किस्तामध्ये पहिलो किस्ता बुझाउने र प्राधिकरणले विद्युत् लाइन पुनः जडान गर्ने प्रस्ताव अघि आएको महासङ्घले जनाएको छ।

महासङ्घका अनुसार उद्योगहरूले बुझाउने रकमलाई धरौटीका रूपमा राखिने छ र उद्योगीले आवश्यक परे अन्य कानुनी प्रक्रिया अघि बढाउन सक्नेछन्। समस्या समाधानको प्रक्रियाले गति लिएपछि सम्बन्धित उद्योगहरूको उत्पादन पुनः सुचारु हुँदै जाने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्