विदुर–महभीर सडक ट्रयाक सञ्चालन, नगरप्रमुखद्वारा स्थलगत निरीक्षण
विदुर, कात्तिक १९ — विदुर नगरपालिका वडा नं. १० अन्तर्गत पर्ने सिहदेवि आधारभूत विद्यालयदेखि माथिल्लो महभीर जाने सडक ट्रयाक सञ्चालनमा आएपछि आज नगरप्रमुख तथा स्थानीय सरोकारवालाले स्थलगत अवलोकन गरेका छन्।
विदुर नगरपालिकाले आफ्नो हेभी उपकरण तथा प्राविधिक जनशक्ति परिचालन गरी सडक ट्रयाक निर्माण–सञ्चालन गरेको हो। ट्रयाक सञ्चालनसँगै स्थानीय बासिन्दालाई दैनिक आवतजावत, कृषि उपज ढुवानी तथा आपतकालीन सेवामा सहजता हुने नगरपालिकाले जनाएको छ।
मंगलबार नगरप्रमुख राजन श्रेष्ठ, वडा नं. १० का वडा अध्यक्ष गणेशकुमार नेपाललगायत जनप्रतिनिधि, प्राविधिक तथा सरोकारवालाको टोलीले निर्माण कार्यको प्रगति तथा अवस्थाको विस्तृत निरीक्षण गरेका हुन्।
निरीक्षणका क्रममा स्थानीयले सडक निर्माणले वडाको विकास, सेवा–सुविधा र पहुँच विस्तारमा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए।
विदुर नगरपालिकाले उक्त सडकलाई थप स्तरोन्नति गर्दै सुरक्षित र दिगो बनाउने योजना अघि बढाइने जनाएको छ।

