दुप्चेश्वर धाममा ४ फिट अग्लो गणेश मूर्ति स्थापना हुँदै, मेलालाई लक्षित गरेर संरचना विस्तार
नुवाकोट,कात्तिक १९ — प्रसिद्ध तीर्थस्थल दुप्चेश्वर धाममा स्थापना गर्नका लागि ४ फिट अग्लो पित्तलको भगवान गणेशको मूर्ति प्राप्त भएको छ। आगामी धान्यपूर्णिमामा लाग्न लागेको दुप्चेश्वर मेलालाई लक्षित गरेर सो मूर्ति धाम परिसरमा स्थापना गरिँदैछ।
दुप्चेश्वर गाउँपालिका–६ करेजुङस्थित पहरामा अवस्थित दुप्चेश्वर मन्दिर पशुपतिनाथको पर्यायका रूपमा परिचित छ। धार्मिक, ऐतिहासिक तथा पर्यटकिय महत्त्व बोकेको यो क्षेत्रको सौन्दर्य वृद्धि र विकासका लागि हाल विभिन्न संरचनाहरू निर्माण भइरहेको दुप्चेश्वर क्षेत्र विकास कोषले जनाएको छ।
यसै क्रममा वेलकोटगढी नगरपालिका–१३ का युवा रुपक लोहनीले सामाजिक सहयोगका रूपमा खरिद गरेको पित्तलको गणेश मूर्ति मन्दिरलाई हस्तान्तरण गरेका छन्। मंगलबार दुप्चेश्वर धाम पुगेका लोहनीले मूर्ति मन्दिरका पदाधिकारी, जनप्रतिनिधि तथा कोषका सदस्यहरूलाई औपचारिक रूपमा बुझाएका थिए।
निस्वार्थ सामाजिक सेवाको भावना बोकेर गरिएको सहयोगका लागि लोहनी तथा उनका परिवारलाई मन्दिर व्यवस्थापन समितिले संयुक्त रूपमा सम्मानपत्र प्रदान गरी सम्मान गरेको छ। मूर्ति हस्तान्तरणका क्रममा लोहनीले स्थानीय धार्मिक थलोको संरक्षण र विकासका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा दुप्चेश्वर गाउँपालिका उपाध्यक्ष माकुरी तामाङ, क्षेत्र विकास कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठ, पुजारी भगवानहरि धिताल, आरती समिति संयोजक रामेश्वर धिताल, सह–संयोजक राजन कुँइकेललगायत सरोकारवालाको उपस्थिति थियो। उनीहरूले दुप्चेश्वर मेलाको यस वर्ष विशेष तयारी भइरहेको जानकारी दिए।
कोषाध्यक्ष श्रेष्ठका अनुसार मेलालाई लक्षित गर्दै आधुनिक तथा मौलिक संरचना निर्माण, ४० रोपनी जग्गा सम्याउने, तथा मन्दिर परिसर विस्तारका काम तीव्र गतिमा भइरहेको छ।
काठमाडौंबाट करिब २ घण्टा र विदुरबाट १ घण्टाको दूरीमा पर्ने दुप्चेश्वर धाममा प्रत्येक शनिवार, सोमवार, बिहीवार, साथै धान्यपूर्णिमा र शिवरात्रिमा भक्तजनको ठूलो भीड लाग्ने गर्दछ।

