नुवाकोटको बेलकोटगढीमा धानवाली क्षति विवरण संकलन तीव्र
नुवाकोट,कात्तिक १९— हालैको असामान्य मौसमी प्रभावका कारण परेका अविरल वर्षाबाट बेलकोटगढी नगरपालिकामा खेती गरिएको धानबालीमा ठूलो क्षति पुगेको छ। यसै सन्दर्भमा किसानहरूको वास्तविक क्षतिको तथ्यांक संकलन कार्यलाई निरन्तरता दिँदै मंगलबार वडा–वडामा स्थलगत अनुगमन तथा मूल्यांकन कार्य सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ।
अनुगमन तथा विवरण संकलनमा सम्बन्धित वडा अध्यक्ष, जनप्रतिनिधि, कर्मचारी, कृषि शाखाका प्राविधिक तथा नेपाल प्रहरीले सक्रिय सहभागिता जनाएका छन्। टोलीले प्रत्येक कृषकसँग सम्पर्क गरी नाम, ठेगाना, खेती गरिएको कुल क्षेत्रफल, क्षतिग्रस्त क्षेत्र, क्षतिको प्रतिशतलगायतका जानकारी संकलन गरेको हो।
पाक्ने चरणमा पुगेको धानबाली वर्षातले नष्ट भएपछि किसानहरू मारमा परेका छन्। संकलित विवरणका आधारमा राहत तथा क्षतिपूर्ति सम्बन्धी निर्णय अघि बढाइने नगरपालिकाले जनाएको छ।

