म्यान्मारमा अवैधानिक गतिविधिमा फसेका १४ नेपालीको उद्धार, थप ११ जनालाई छिट्टै फर्काइने
म्यान्मार,कात्तिक २० । म्यान्मारमा अवैधानिक कार्यमा प्रयोग गरिएका १४ नेपाली नागरिकको नेपाल सरकारले सफल उद्धार गरी स्वदेश फर्काएको छ। परराष्ट्र मन्त्रालयको पहल र थाइल्यान्डस्थित नेपाली दूतावासको समन्वयमा उद्धार गरिएका सबैलाई बुधबार बैङ्ककबाट नेपाल एयरलाइन्सको उडानमार्फत स्वदेश पठाइएको दूतावासले जनाएको छ।
दूतावासका अनुसार विभिन्न प्रलोभनमा पारेर म्यान्मार पुर्याई अवैध रूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ गतिविधिमा लगाइएका नेपालीमध्ये १४ जनाको यसपटक उद्धार गरिएको हो। यसअघि पनि पटक–पटक त्यस्ता गतिविधिमा फसाइएका नेपालीको उद्धार हुँदै आएको छ। म्यान्मार तथा थाइल्यान्डका सम्बन्धित निकायको सहयोगमा म्यावडी क्षेत्रबाट उद्धार गरिएका उनीहरूलाई थाइल्यान्डको टाक प्रान्तस्थित अध्यागमन कार्यालय, मेसोट हुँदै बैङ्कक पुर्याइएको थियो।
यसैबीच म्यान्मारमा अवैध रुपमा फसेका थप ११ नेपालीलाई छिट्टै स्वदेश फर्काउने लक्ष्यसहित दूतावासले दुवै देशका सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको जनाएको छ।
गत महिनादेखि म्यावडी क्षेत्रमा अवैध अनलाइन स्क्यामिङ केन्द्रहरूबाट विभिन्न २८ देशका करिब दुई हजारभन्दा बढी नागरिक उद्धार गरिएको थियो। तीमध्ये ३८ जना नेपालीसमेत रहेका र उनीहरूलाई पनि यथासक्य छिटो नेपाल ल्याउन थाइल्यान्ड सरकारसँग समन्वय भइरहेको दूताबासले जनाएको छ।
दूतावासले भ्रामक प्रलोभन, छिटो पैसा कमाउने आशा र ‘सहज काम’का नाममा कम्बोडिया, लाओस, म्यान्मार, थाइल्यान्डलगायत मुलुकमा जान नहुन आग्रह गरेको छ। भिजिट भिसामा थाइल्यान्ड पुगेकाहरू समेत मानव तस्करीको जालमा परेको धेरै घटना भेटिएको भन्दै दूतावासले वैदेशिक रोजगारीका लागि नेपाल सरकारले तोकेअनुसारको विधि र वैधानिक श्रम स्वीकृतिबाट मात्र विदेश जान आग्रह गरेको छ।

