कांग्रेस नेताहरू : “यथाशीघ्र १५ औँ महाधिवेशन आवश्यक, नेतृत्व रूपान्तरणमार्फत जनआस्था पुनःस्थापित गर्नुपर्छ”



काठमाडौं,कात्तिक २० । नेपाली कांग्रेसका नेताहरूले पार्टीभित्र नेतृत्व र संगठनात्मक रूपान्तरणका लागि १५ औँ महाधिवेशन छिट्टै सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन्। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा असोज २८ देखि जारी केन्द्रीय कार्यसमिति बैठकमा बुधबार बोल्ने नेताहरूले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिले पार्टीमा नयाँ ऊर्जा र जनआस्था जगाउने आवश्यकता देखिएको भन्दै महाधिवेशनलाई अब ढिलाइ गर्न नहुने बताएका हुन्।

नेताहरूले कांग्रेसले विगतदेखि नै देशका कठिन संकटलाई निकास दिने भूमिकामा रहँदै आएको स्मरण गराउँदै संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउने ज़िम्मेवारी पनि पार्टीकै काँधमा रहेको जिकिर गरे।

बैठकमा फागुन २१ गते निर्धारित प्रतिनिधि सभा निर्वाचनअगाडि नै १५ औँ महाधिवेशन गर्नुपर्ने धारणा धेरै नेताबाट व्यक्त भयो। तर केही केन्द्रीय सदस्यले भने निर्वाचनपछि महाधिवेशन गर्नु उपयुक्त हुने तर्क प्रस्तुत गरेका छन्।

सहमहामन्त्री फरमुल्लाह मन्सुरले प्रतिनिधि सभा चुनाव कांग्रेसका लागि अत्यन्तै महत्वपूर्ण रहेको बताउँदै त्यसअघि नै महाधिवेशन गरेर स्पष्ट नीति, कार्यक्रम र नेतृत्वसहित जनतामाझ जानुपर्ने धारणा राखे। “कांग्रेसप्रति जनतामा ठूलो आशा र अपेक्षा छ। नयाँ नेतृत्व र अद्यावधिक नीति–कार्यक्रम लिएर चुनावमा गए जनआस्था पुनःस्थापित हुन्छ,” मन्सुरले बैठकमा भने। उनले विशेष महाधिवेशनका लागि ५४ प्रतिशत प्रतिनिधिबाट हस्ताक्षर प्राप्त भइसकेकाले १० दिन छुट्याएर महाधिवेशन सम्पन्न गर्न सकिने समेत बताए। साथै उनले महामन्त्री गगनकुमार थापालाई पार्टी सभापति तथा प्रधानमन्त्रीका उम्मेदवारका रूपमा अघि सार्नुपर्ने प्रस्ताव आफूले राखेको जानकारी दिए।

यता केन्द्रीय सदस्य प्रकाशमान सिंहले महाधिवेशन निर्वाचनपछि गर्नु उपयुक्त हुने तर्क गर्दै हाल सबैले एकताबद्ध भएर चुनाव तयारीमा लाग्नुपर्ने आवश्यकता औंल्याए।

बैठकमा केन्द्रीय सदस्य पद्मनारायण चौधरी, जीवनबहादुर शाही, सुरेन्द्रराज पाण्डे, शङ्कर भण्डारी, कृष्णकिशोर घिमिरे, तारामान गुरुङ, आङ्गेलु शेर्पा, मदनबहादुर अमात्य, चन्द्रबहादुर केसी, अब्दुल सतार, उदयशमशेर राणा, अञ्जनी श्रेष्ठ, चम्पादेवी खड्का, जावेदा खातुन जागा, प्रा.डा. गोविन्दराज पोखरेल, अजयबाबु शिवाकोटी, माया राई, सुशीला ढकाल (आचार्य), गङ्गा शाही र सीतादेवी देवकोटाले समेत आफ्नो धारणा राखेका थिए।

प्रतिक्रिया दिनुहोस्