झापामा सर्पको डसाइबाट एक महिलाको मृत्यु



झापा,कात्तिक २२ — झापाको गौरादह नगरपालिका–६ तेडियाडाँगीमा सर्पले डसेपछि एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा २५ वर्षीया चाँदनीदेवी शर्मा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

गएराति करीब ८:३० बजे घरभित्रको खाद्य भण्डार कक्षबाट सामान निकाल्ने क्रममा उनलाई गोमन सर्पले दायाँ खुट्टामा डसेको प्रहरीले जनाएको छ। सर्पले डसेपछि उनलाई तुरुन्तै उपचारका लागि मोरङको सामुदायिक सर्पदंश उपचार केन्द्र सिजुवा पुर्‍याइएको थियो। तर चिकित्सकले राति ११:45 बजे उनको मृत्यु भएको घोषणा गरेका हुन्।

वर्षा–गर्मीको समयमा सर्पदंशका घटना बढ्ने भए पनि हिउँदमा समेत सर्पले डस्ने घटना भइरहेको उपचार केन्द्रका इञ्चार्ज देवीप्रसाद भण्डारीले बताए। उनका अनुसार चालु आर्थिक वर्षको चार महिनाभित्र केन्द्रमा ३७० जनाले सर्पदंशको उपचार सेवा लिएका छन्।

स्थानीय प्रशासन र स्वास्थ्यकर्मीहरूले सर्पबारे सजग रहन, घर वरपरको सरसफाइमा ध्यान दिन तथा सर्पले डसेमा ढिला नगरी नजिकको स्वास्थ्य केन्द्रमा उपचारका लागि पुग्न आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्