आफ्नै अनुहारमा कालोमोसो दलेर सरकारविरुद्ध अनौठो विरोध प्रदर्शन



जनकपुर,कात्तिक २२ — मधेस प्रदेश सभाको बैठक चलिरहेको समयमा नेकपा (माओवादी केन्द्र) का प्रदेश सभा सदस्य रहबर अन्सारीले आफ्नो अनुहारमा कालोमोसो दलेर सरकारविरुद्ध अनौठो शैलीमा विरोध प्रदर्शन गरेका छन्।

मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मतका लागि आह्वान गरेको बैठकमा सहभागी अन्सारीले प्रदेशसभामा रहेका कुनै पनि सदस्यसँग “सरकारको नेतृत्व गर्ने नैतिक आधार छैन” भन्दै आफू विश्वासको मत नदिनेसहित विरोधस्वरूप कालोमोसो दलेका हुन्।

अन्सारीले प्रदेशसभाका सदस्यहरू जनताको भावना र अपेक्षाअनुसार काम गर्न असफल भएका कारण प्रदेश राजनीतिक निकासहीन बनेको बताए। उनले भने, “आज हामी सबैले गल्ती स्वीकार गर्ने समय आएको छ, अहिलेका हामीमध्ये कोहीसँग पनि सरकार चलाउने नैतिक अधिकार छैन।”

अन्सारीको भाषणपछि सोही दलकी प्रदेश सभा सदस्य माला कर्णले पनि विश्वासको मत नदिने घोषणा गरिन्। उनले प्रदेश सरकारले केन्द्रको निर्देशनमै चल्ने गरेको र यस्तो परिस्थितिमा आफू सचेत निर्णय लिन बाध्य भएको बताइन्।

विश्वासको मत प्रक्रिया जारी भएको उक्त बैठक प्रदेशको नयाँ राजनीतिक समीकरणतर्फ निरन्तर उन्मुख देखिएको छ।

प्रतिक्रिया दिनुहोस्