दाङमा जेनजी आन्दोलनका क्रममा तोडफोड–आगलागीमा संलग्न नौ जना पक्राउ



दाङ, कात्तिक २३ । दाङमा जेनजी आन्दोलनका नाममा गरिएको तोडफोड र आगजनी प्रकरणमा संलग्न नौ जनालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ। घोराहीस्थित जिल्ला अदालत परिसर, ट्राफिक प्रहरी कार्यालय दाङ र घोराही–१५ भानुचोकको प्रहरी विटमा ढुंगामुढादेखि आगजनीसम्मका गतिविधिमा संलग्न भएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिएका छन्।

उनका अनुसार पक्राउ परेकामा घोराही–१५ का २४ वर्षीय सुनिल थापा मगर, २४ वर्षीय कुनाल श्रेष्ठ, २४ वर्षीय ईनाहित कुरेसी, १८ वर्षीय टेकम डाँगी र १८ वर्षीय बिबेक पुन मगर रहेका छन्। त्यस्तै, सल्यान छत्रेश्वरी–४ का २६ वर्षीय अमरबहादुर वली, घोराही–१३ का 29 वर्षीय महेश घिमिरे, घोराही–९ ढिकपुरका शरद बस्नेत र घोराही–१३ का २५ वर्षीय सन्दीप घर्ती पनि पक्राउ परेका छन्।

सीसी क्यामेरामा कैद दृष्य, सञ्चार माध्यममा सार्वजनिक सामग्री तथा सामाजिक सञ्जालमा पोष्ट गरिएका भिडियोका आधारमा उनीहरूलाई पहिचान गरी पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको नायव उपरीक्षक शाहले बताए।

उनका अनुसार कात्तिक २१ र २२ गते घोराहीका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो। जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते दाङमा २४ वटा सरकारी कार्यालयका ४७ भवन तथा सवारी साधनमा तोडफोड र आगजनी हुँदा सरकारी सम्पत्तिमा करिब एक अर्ब ११ करोड रुपैयाँ बराबरको क्षति पुगेको थियो।

प्रतिक्रिया दिनुहोस्