पाटन दरबार सङ्ग्रहालयमा अनलाइन टिकट बुकिङ प्रणाली सुरु गर्ने तयारी
ललितपुर,फागुन १ । विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको पाटन दरबार सङ्ग्रहालय अवलोकनका लागि अब घरमै बसेर अनलाइन टिकट बुकिङ गर्न सकिने भएको छ। सङ्ग्रहालय प्रशासनले स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गर्दै अनलाइन टिकट प्रणाली लागू गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।
पाटन दरबार सङ्ग्रहालयका प्रमुख सुरेशमान लाखेका अनुसार हाल अनलाइन टिकट बुकिङ प्रणाली परीक्षण चरणमा रहेको छ। अहिले सङ्ग्रहालय परिसरमा रहेका दुईवटा काउन्टरमार्फत टिकट वितरण हुँदै आएको छ भने टिकट शुल्क क्यूआर कोडमार्फत भुक्तानी गर्ने व्यवस्था यसअघि नै सुरु गरिएको छ।
“हालसम्म भौतिक काउन्टरबाट टिकट काट्नुपर्ने बाध्यता थियो,” प्रमुख लाखेले भन्नुभयो, “अब घरबाटै अनलाइन माध्यम प्रयोग गरी टिकट बुकिङ गर्न सकिने भएपछि पर्यटकलाई थप सहज हुनेछ। हामी छिट्टै औपचारिक रूपमा यो प्रणाली सुरु गर्ने तयारीमा छौँ, अहिले परीक्षण भइरहेको छ।”
अनलाइन प्रणाली सञ्चालनमा आएपछि लामो लाइन बस्नुपर्ने झन्झट हट्ने, समयको बचत हुने र पर्यटक व्यवस्थापन थप प्रभावकारी हुने विश्वास प्रशासनले लिएको छ। विशेषगरी पर्यटकको चाप बढी हुने सिजनमा यसले ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।
सन् २०२५ मा पाटन दरबार सङ्ग्रहालय ३ लाख १३ हजार ३०० पर्यटकले अवलोकन गरेका छन्। जसमध्ये सार्क राष्ट्रका ४३ हजार ५३ पर्यटकसहित कुल १ लाख ५ हजार ३०० विदेशी पर्यटक रहेका छन्। नयाँ प्रणालीले आगामी दिनमा पर्यटक आगमन अझ बढ्ने अपेक्षा गरिएको छ।

