रुकुमपूर्वमा ३०औँ जनयुद्ध दिवस, सहिद परिवारसँग प्रचण्ड
रुकुमपूर्व,फागुन १ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले जनयुद्ध सुरु भएको ऐतिहासिक स्थल रुकुमपूर्वमा ३०औँ जनयुद्ध दिवस मनाउने भएको छ। सो अवसरमा पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार साँझ रुकुमपूर्व आइपुग्नुभएको छ। उहाँ सहिद तथा बेपत्ता परिवार, घाइते, अपाङ्ग र स्थानीय रुकुमेली जनतासँग दिवस मनाउने कार्यक्रम रहेको नेकपा रुकुमले जनाएको छ।
भूमे गाउँपालिका–२ खाबाङ बगरमा आयोजना हुने कार्यक्रममा संयोजक प्रचण्डले सहिद परिवारलाई सम्मान गर्ने कार्यक्रम तय गरिएको छ। रुकुमपूर्वमा जनयुद्धका क्रममा २५२ जना सहिद भएका छन्। जनयुद्धका प्रमुख नेता प्रचण्ड पहिलोपटक रुकुमपूर्वमा जनयुद्ध दिवस मनाउन आउनुभएको हो। सङ्घीयतापछि कान्छो जिल्लाको रूपमा स्थापित रुकुमपूर्वबाट उहाँ प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत हुनुहुन्छ।
विसं २०५२ फागुन १ गते तत्कालीन नेकपा (माओवादी)ले राजतन्त्रको अन्त्य र नयाँ जनवादी व्यवस्था स्थापनाको उद्देश्यसहित जनयुद्ध सुरु गरेको थियो। रुकुमको आठबीसकोट प्रहरी चौकी, रोल्पाको होलरी प्रहरी चौकी, सिन्धुलीगढी प्रहरी चौकी तथा गोरखाको च्याङ्लीस्थित कृषि विकास बैंकमा आक्रमण गरी जनयुद्धको औपचारिक सुरुआत गरिएको थियो। त्यसपछि रुकुम (पश्चिम र पूर्वी) र रोल्पालाई आधार इलाका बनाएर आन्दोलन अघि बढाइएको थियो।
रुकुमपूर्वमा विभिन्न समयक्रममा प्रहरी चौकीहरूमा आक्रमण तथा एम्बुस घटना भएका थिए। विसं २०५३ वैशाख २३ मा छेरावाङमा पहिलो एम्बुस आक्रमण भएको थियो भने २०५४ माघ १६ मा क्युवाङमा भएको आक्रमणमा थ्रीनट राइफल कब्जा गरिएको थियो। २०५६ असोज ५ मा महतमा आक्रमण गरी प्रहरी नायब उपरीक्षक ठूले राईलाई नियन्त्रणमा लिइएको थियो, जसलाई पछि माओवादी नेता देव गुरुङसँग साटफेर गरिएको थियो। २०५७ चैतमा रुकुमकोट चौकीमा भएको आक्रमणमा ४० जनाको ज्यान गएको थियो।
रुकुमकै लाबाङमा २०६१ माघमा बसेको माओवादी पोलिटब्यूरो बैठकले डा. बाबुराम भट्टराईलाई कारबाही गर्ने निर्णय गरेको थियो भने २०६२ असोजमा चुनवाङमा बसेको केन्द्रीय समिति बैठकले लोकतान्त्रिक गणतन्त्रको कार्यदिशा पारित गर्दै शान्तिपूर्ण राजनीतिक यात्रातर्फ अघि बढ्ने निर्णय गरेको थियो। सोही निर्णयको आधारमा सात दल र माओवादीबीच १२ बुँदे सहमति भई जनआन्दोलन र जनयुद्धको संयोजनबाट राजतन्त्रको अन्त्य तथा गणतन्त्र, सङ्घीयता र धर्मनिरपेक्षतासहितको व्यवस्थाको स्थापना भएको थियो।
दिवस मनाउनुअघि संयोजक प्रचण्डले महतगाउँ र लावाङगाउँको भ्रमण गर्ने तथा जनभेटघाट गर्ने कार्यक्रम छ। उहाँ आजै चुनवाङ पुग्ने कार्यक्रमसमेत रहेको नेकपाले जनाएको छ।

