विदुर मेयर कप राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता वैशाख ३ देखि बट्टारमा
नुवाकोट,बैशाख १— ब्याडमिन्टन खेलको विकास र विस्तार गर्ने उद्देश्यले नुवाकोटको बट्टारमा प्रथम विदुर मेयर कप राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिताको तयारी तीव्र रूपमा भइरहेको आयोजक नुवाकोट ब्याडमिन्टन संघले जनाएको छ।
विदुर नगरपालिकाको संरक्षकत्वमा सञ्चालन हुने प्रतियोगिता आगामी २०८३ साल वैशाख ३, ४ र ५ गते विदुर नगरपालिका–२ स्थित बट्टार ब्याडमिन्टन कभर्ड हलमा आयोजना गरिनेछ। आयोजक संघका अध्यक्ष धनसिंह तामाङका अनुसार प्रतियोगितामा महिला तथा पुरुषतर्फ विभिन्न आठ विधामा प्रतिस्पर्धा हुने छ।
प्रतियोगिताअन्तर्गत पुरुष एकल खुल्लातर्फ विजेताले नगद ५० हजार रुपैयाँ, उपविजेताले ३५ हजार र तृतीय हुनेले २० हजार रुपैयाँसहित ट्रफी तथा मेडल प्राप्त गर्नेछन्। त्यस्तै महिला तथा पुरुष डबल्स खुल्लातर्फ पनि विजेता, उपविजेता र तृतीय स्थान हासिल गर्ने खेलाडीले समान नगद पुरस्कारसहित ट्रफी र मेडल पाउने व्यवस्था गरिएको छ।
प्रतियोगितामा नेपाल ब्याडमिन्टन महासंघ, काठमाडौंको प्राविधिक सहयोग रहनेछ भने जिल्ला समन्वय समिति नुवाकोटले समन्वय गरेको छ।विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले प्रतियोगिताले नुवाकोटमा खेल पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार यस्ता प्रतियोगिताले ब्याडमिन्टन खेलको विस्तार हुनुका साथै खेलाडीबीच आपसी सम्बन्ध सुदृढ हुने अपेक्षा गरिएको छ।

