छहरे–टोखा सुरुङमार्ग निर्माण सुरु गर्न सांसद लामिछानेको माग



काठमाडौं, वैशाख २ । नुवाकोट–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा. अच्युतम लामिछानेले लामो समयदेखि बहुप्रतिक्षित छहरे–टोखा सुरुङमार्गको निर्माण कार्य तत्काल सुरु गर्न प्रधानमन्त्री बालेन्द्र शाह समक्ष माग गरेका छन्।

सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा वागमती प्रदेशका प्रतिनिधिसभा सदस्यहरूसँग भएको अन्तरक्रियामा उनले देशको आर्थिक विकास र रूपान्तरणका लागि उक्त सुरुङमार्ग अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै यसै वर्षबाट निर्माण प्रक्रिया अघि बढाउनुपर्ने बताएका हुन्।

डा. लामिछानेले नुवाकोट मात्र नभई रसुवा र समग्र देशकै विकासमा टोखा–छहरे सुरुङमार्ग निर्णायक हुने धारणा राख्दै आफ्नो निर्वाचन क्षेत्रका विविध समस्यातर्फ प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए। सो क्रममा उनले पूर्वाधार विकाससहित १२ प्रकारका योजना प्रस्तुत गर्दै ती योजनाबाट देश परिवर्तन सम्भव हुने दाबी गरे।

उनले एक दशकदेखि जीर्ण अवस्थामा रहेको पासाङल्हामु सडकमार्गअन्तर्गत रानीपौवादेखि पिपलटारसम्मको खण्ड तत्काल मर्मत तथा पुनर्निर्माण गर्नुपर्ने, देवीघाट जलविद्युत केन्द्र जाने सिँचाइ पुल पुनर्निर्माणका लागि बजेट विनियोजन गर्नुपर्ने मागसमेत अघि सारे। साथै, बजेट वितरण आवश्यकता र जनताले भोगिरहेका समस्याका आधारमा समन्वयात्मक ढंगले गर्नुपर्नेमा जोड दिए।

सांसद लामिछानेले नुवाकोटमा थाँती रहेका पूर्वाधार, स्वास्थ्य, उद्योग, भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित योजनाहरू तत्काल सञ्चालन गर्न माग गर्दै प्राथमिकताका आधारमा सडक निर्माण कार्य अघि बढाउनुपर्ने बताए।

शिक्षातर्फ प्राविधिक शिक्षालाई औपचारिक शिक्षासँग समकक्षता दिनुपर्ने, सूचना प्रविधिमैत्री शिक्षा प्रणाली विकास गर्नुपर्ने र स्वास्थ्य क्षेत्रमा औषधि कारोबारमा हुने बिचौलियाको प्रभाव नियन्त्रण गर्नुपर्ने आवश्यकता उनले औंल्याए। साथै, सरकारी अस्पतालमा उपचार सेवा सहज बनाउन, बीमा प्रणाली प्रभावकारी बनाउन र सेवामा हुने भनसुन अन्त्य गर्न माग गरे।

प्रशासनिक सुधारअन्तर्गत राहदानी, नागरिकता र राष्ट्रिय परिचयपत्र वितरणलाई सहज र सर्वसुलभ बनाउनुपर्ने तथा प्रत्येक जिल्लाबाट सवारीचालक अनुमतिपत्र उपलब्ध गराउने व्यवस्था मिलाउनुपर्ने उनको भनाइ थियो।

विपद् व्यवस्थापनतर्फ वर्षायाम नजिकिँदै गएको सन्दर्भमा बाढी, पहिरो तथा सडक दुर्घटनाबाट हुने क्षति न्यूनीकरणका लागि तयारी अवस्थामा रहन सरकारलाई सुझाव दिएका उनले कृषकका लागि मल, बीउबिजनको समयमै आपूर्ति र शीत भण्डारणको व्यवस्था गर्नुपर्नेमा जोड दिए।

सांसद लामिछानेले कृषि उत्पादनको गुणस्तर परीक्षण कडाइ गर्नुपर्ने तथा स्वदेशी उत्पादनको बजारीकरणमा सहजता ल्याउनुपर्ने बताए। उद्योग क्षेत्रको पुनरुत्थानका लागि गोरखकाली टायर, हेटौडा कपडा तथा हेटौडा सिमेन्ट उद्योगलाई सम्भाव्यता अध्ययनका आधारमा पुनः सञ्चालनमा ल्याउनुपर्ने सुझाव पनि उनले दिएका छन्।

खेलकुद क्षेत्रको विकासका लागि अलग मन्त्रालय गठन गरी नेपालमै खेलकुद विश्वविद्यालय स्थापना गर्नुपर्ने धारणा राख्दै उनले हेटौडाको गौरीटार वा ललितपुरको सातदोबाटोस्थित खेलकुद परिसरलाई त्यसका लागि उपयोग गर्न सकिने प्रस्ताव गरेका छन्।

त्यसैगरी, दूरसञ्चार सेवा विस्तार गरी दुर्गम क्षेत्रमा मोबाइल नेटवर्क सुधार गर्नुपर्नेमा जोड दिँदै उनले सेवा प्रवाहको गुणस्तर वृद्धि आवश्यक रहेको बताए।

सांसद लामिछानेले प्रस्तुत गरेका मागप्रति प्रधानमन्त्री बालेन्द्र शाह ले सकारात्मक प्रतिक्रिया जनाउँदै सबै प्रस्तावहरूलाई लिखित रूपमा दस्तावेज तयार गरी स्वकीय सचिवालयमार्फत प्रधानमन्त्री कार्यालयमा पेश गर्न निर्देशन दिएका छन्।

प्रतिक्रिया दिनुहोस्