गण्डकी प्रदेशसभा सदस्य कुँवरद्वारा राजीनामा
काठमाडौँ, वैशाख २ — नेपाली कांग्रेसका गण्डकी प्रदेशसभा सदस्य दोर्णकुमार कुँवरले पदबाट राजीनामा दिएका छन्। मन्त्री बन्ने आकांक्षासहित मन्त्रिपरिषद् पुनर्गठनको प्रतीक्षामा रहेका उनी समावेश नभएपछि राजीनामा दिएको स्रोतले जनाएको छ।
आजको मितिदेखि लागू हुने गरी उनले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका हुन्। राजीनामा पत्रमा कुँवरले आफूलाई विश्वास गरी मतादेश र जनादेश प्रदान गर्ने आम मतदाता, शुभेच्छुक तथा समर्थकप्रति कृतज्ञता व्यक्त गरेका छन्।
‘मलाई विश्वास भरोसा दिलाई जिम्मेवारीसहित मतादेश र जनादेश दिनु भएका आम मतदाता, शुभचिन्तक तथा शुभेच्छुकप्रति कोटीकोटी नमनसहित कृतज्ञता व्यक्त गर्दछु,’ उनले पत्रमा उल्लेख गरेका छन्।
त्यस्तै, पूर्ण कार्यकाल सम्पन्न गर्न नसकेकोप्रति क्षमायाचना गर्दै उनले आम नागरिकको विश्वासलाई पूरा गर्न नसकेकोमा दुःख व्यक्त गरेका छन् ।

