कांग्रेसमा गुटीय विवाद चर्किँदै, पूर्णबहादुर खड्कासँग स्पष्टीकरण माग



काठमाडौँ, वैशाख २— नेपाली कांग्रेस भित्र गुटगत विवाद बढ्दै जाँदा पूर्वउपसभापति पूर्णबहादुर खड्कासँग स्पष्टीकरण सोधिएको छ।

केन्द्रीय अनुशासन समितिको बुधबार बसेको बैठकले खड्कालाई सात दिनभित्र लिखित स्पष्टीकरण दिन निर्देशन दिएको हो। निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेता खड्काले पार्टीभित्र समानान्तर गतिविधि अघि बढाएको आरोपमा उक्त निर्णय गरिएको जनाइएको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले तत्कालीन कार्यवाहक सभापति समेत रहनुभएका खड्काले पार्टी नीति विपरीत विज्ञप्ति जारी गरेको ठहर गरेको छ। यसअघि पनि अनधिकृत रूपमा वक्तव्य जारी गरेको भन्दै उनलाई सचेत गराइएको थियो।

खड्काले गत सोमबार कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गर्दै पार्टीको क्रियाशील सदस्यता खारेज गरिएको घोषणाप्रति असहमति जनाउनुभएको थियो। यसअघि चैत १८ गतेको अनुशासन समितिको बैठकले कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरे कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो।

त्यसअघि चैत १४ गते पनि खड्काले कार्यवाहक सभापतिकै हैसियतमा विज्ञप्ति जारी गर्दै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले पक्राउ गरेको घटनाको विरोध गर्नुभएको थियो।

साथै, चैत १७ गते उहाँले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बोलाई दुई दिन छलफलसमेत गर्नुभएको थियो।पार्टीभित्र पछिल्लो समय देखिएको आन्तरिक विवादले आगामी गतिविधिमा थप प्रभाव पार्ने आकलन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्